आज : Thursday, October 08, 2026 | २०८३ असोज २२ बिहीबार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय सदस्यमा अनुज अधिकारीको उम्मेदवारी

लमजुङ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य पदमा लमजुङका अनुज अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ। महोत्तरीको बर्दिबासमा असोज २२ देखि २४ गतेसम्म हुने प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनमा उहाँले गण्डकी प्रदेश भूगोलतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लाग्नुभएको हो।

प्रतिष्ठान लमजुङका निवर्तमान अध्यक्ष तथा संरक्षक अधिकारीले डेढ दशकभन्दा लामो समयदेखि प्रतिष्ठानमा सक्रिय रहँदै आएको अनुभवलाई अब केन्द्रीय तहमा जोड्ने उद्देश्यले उम्मेदवारी घोषणा गर्नुभएको हो।

अधिकारी २०६६ सालदेखि प्रतिष्ठानमा साधारण सदस्यका रूपमा आबद्ध हुनुभएको हो। त्यसपछि कार्यसमिति सदस्य, सहसचिव र सचिवको जिम्मेवारी सम्हाल्दै उहाँले दुई कार्यकाल जिल्ला अध्यक्षका रूपमा काम गर्नुभएको छ। जिल्ला अध्यक्षका रूपमा उहाँले लमजुङमा प्रतिष्ठानका सांस्कृतिक, सामाजिक तथा सांगठनिक गतिविधिलाई अघि बढाउन भूमिका खेल्नुभएको थियो।

लोक तथा दोहोरी गीतको संरक्षण र प्रवर्द्धनसँगै कलाकारको हितका क्षेत्रमा समेत सक्रिय अधिकारीले जिल्लामा प्रतिष्ठानका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन योगदान पुर्‍याउनुभएको छ।

सुन्दरबजार नगरपालिका–८, भोटेओडारका अधिकारी कलाकारिता, सञ्चारकर्म र सामाजिक सेवामा समेत सक्रिय हुनुहुन्छ। दोहोरी प्रतियोगितामार्फत कलाकारितामा प्रवेश गर्नुभएका उहाँ पछिल्लो समय प्रत्यक्ष दोहोरी तथा कार्यक्रम सञ्चालनका क्षेत्रमा परिचित हुनुहुन्छ।  प्रत्यक्ष दोहोरीमा समेत सक्रिय अधिकारीका दुईवटा दोहोरी गीत बजारमा आइसकेका छन्।

अधिकारीले महाधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाउन आफूले पहल गर्ने बताउनुभएको छ। सर्वसम्मति हुन नसके निर्वाचन प्रक्रियाबाट प्रतिस्पर्धामा जाने उहाँको भनाइ छ। केन्द्रीय सदस्यमा निर्वाचित भए लोक तथा दोहोरी गीतको संरक्षण तथा प्रवर्द्धन, कलाकारको हित र प्रतिष्ठानका सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउन आफ्नो अनुभव उपयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ।  

प्रतिकृया दिनुहोस