आज : Friday, November 20, 2026 | २०८३ मङ्सिर ५ शुक्रबार

लमजुङ र मनाङमा निर्माणाधीन मर्स्याङ्दी २२० केभी प्रसारण लाइनको सार्वजनिक सुनुवाइ हुँदै 

 लमजुङ ।
लमजुङ र मनाङ जिल्लामा निर्माणाधीन मर्स्याङ्दी करिडोर (मनाङ–उदीपुर) २२० केभी प्रसारण लाइन आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सरोकारवाला व्यक्ति तथा संस्थाहरूको राय, सुझाव र प्रतिक्रिया संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ गर्न लागेको हो।

प्राधिकरणले पहिलो पटक सूचना प्रकाशित गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रमको मिति, समय र स्थानसमेत सार्वजनिक गरेको छ। निर्धारित कार्यक्रमअनुसार पहिलो सुनुवाइ मंसिर ६ गते बिहान १० बजे मनाङको नासों गाउँपालिका–१ स्थित ताल सामुदायिक भवनमा हुनेछ।

त्यस्तै, मंसिर ७ गते बिहान १० बजे लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ स्थित भुलभुले सामाजिक भवनमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिनेछ। सोही दिन दिउँसो २ बजे बेँसीसहर नगरपालिकास्थित जिल्ला समन्वय समिति कार्यालयको सभाहलमा अर्को सार्वजनिक सुनुवाइ कार्यक्रम हुनेछ।

आयोजनाबाट लमजुङको बेँसीसहर नगरपालिका वडा नम्बर १, २, १० र ११ तथा मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३, ४, ५ र ८ प्रभावित क्षेत्रका रूपमा रहेका छन्। त्यस्तै, मनाङको नासों गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ र ९ पनि आयोजना प्रभावित क्षेत्रमा समेटिएका छन्। नेपाल विद्युत प्राधिकरणको सामाजिक सुरक्षा तथा वातावरण व्यवस्थापन विभागले सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा, जनप्रतिनिधि, सरोकारवाला व्यक्ति तथा संघसंस्थालाई सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित भई आफ्ना राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउन अनुरोध गरेको छ।  

प्रतिकृया दिनुहोस