पुस ८ देखि तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला हुँदै, स्थानीय उत्पादनलाई विशेष प्राथमिकता
लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा ''तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेला–२०८३'' हुने भएको छ। महोत्सव मर्स्याङ्दी गाउँपालिका वडा नं। ७ ङादी खेलमैदानमा आगामी पुस ८ देखि १२ गतेसम्म सञ्चालन हुने छ । आयोजक मर्स्याङ्दी गाउँपालिकाले आइतबार वडा नं।३ स्थित पर्यटकीय स्थल हर्सिङडाँडामा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी तथा कार्यक्रमबारे जानकारी गराएको हो । स्थानीय कला, संस्कृति, पर्यटन तथा आर्थिक गतिविधिको प्रवर्द्धन गर्ने उद्देश्यले मर्स्याङ्दी महोत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयो । यसपटक महोत्सवमा स्थानीय उत्पादनलाई विशेष स्थान दिईने जनाईएको छ ।
महोत्सवमा कृषि उपज, फलफूल, तरकारी, पशुपंक्षी तथा स्थानीय उत्पादनको प्रदर्शनी, स्थानीय हस्तकला, मौलिक खानाका परिकार, धार्मिक साँस्कृतिक तथा परम्परागत कार्यक्रम, स्थानीय प्रतिभा, कला, संस्कृति र सिर्जनशीलतालाई प्राथमिकता दिईने छ ।
यस्तै मर्स्याङ्दी गाउँपालिकाका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार तथा प्रवद्र्धनसम्बन्धी कार्यक्रमहरु समेत समावेश गरिने अध्यक्ष एवं तेस्रो मर्स्याङ्दी महोत्सव तथा कृषि मेलाका संयोजक गुरुङले बताउनुभयो । पाँच दिन सम्म संचालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहको सांगितिक प्रस्तुती रहने छ । महोत्सवकै अवसरमा लमजुङ जिल्लास्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगीता समेत संचालन गरिने जनाईएको छ ।
यसपटक महोत्सवमा विद्यार्थीका लागि ५० र सर्वसाधारणका लागि एक सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । कुल ५० लाख खर्च हुने अनुमान गरिएको महोत्सव अवधिभर २० हजार दर्शकले अवलोकन गर्ने र ४ करोडको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ । महोत्सव सफल बनाउन एक सय २५ सदस्यीय मूल आयोजक समिति र ११ वटा उपसमितिहरु गठन गरिएका छन् ।
महोत्सवको माध्ययमबाट गाउँपालिकाका नौ वटै वडामा रहेका कृषि, पशुपालन, पर्यटन, कला, संस्कृति, हस्तकला, स्थानीय परिकार तथा उद्यमशीलताका सम्भावनालाई एउटै साझा मन्चमा जोड्ने महोत्सवको लक्ष्य छ । महोत्सवले स्थानीय उत्पादन, व्यापार र रोजगारीको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । सबैको साझा प्रयासबाट मर्स्याङ्दी गाउँपालिकालाई कृषि, पर्यटन, उर्जा, संस्कृति र पुर्वाधार विकासको नमुना गाउँपालिकाका रुपमा स्थापित गर्न सकिने बताउँदै अध्यक्ष गुरुङले महोत्सवलाई सफल बनाउन सबैमा अपिल गर्नुभयो । पत्रकार सम्मेलनमा मर्स्याङ्दी गाउँपालिकाका विभिन्न वडाका वडाअध्यक्ष, जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।








प्रतिकृया दिनुहोस