आज : Tuesday, September 29, 2026 | २०८३ असोज १३ मंगलबार

शुक्लागण्डकीमा गुञ्जदै 'नेपथ्य', १० हजारभन्दा बढी संगीतप्रेमी सहभागी हुने अपेक्षा  

लमजुङ । 

छिमेकी जिल्ला तनहुँको शुक्लागण्डकीमा नेपालको लोकप्रिय सांगीतिक ब्याण्ड नेपथ्यको सांगीतिक प्रस्तुति हुने भएको छ। आगामी मंसिर १२ गते शुक्लागण्डकीस्थित भानुभक्त बहुमुखी क्याम्पस, बेलचौताराको खेलमैदानमा ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ कार्यक्रम आयोजना हुने भएको हो।

लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा हुन लागेको उक्त सांगीतिक कार्यक्रमबारे सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकहरूले जानकारी गराएको हो। आयोजकका अनुसार कार्यक्रम शुक्लागण्डकीको सांगीतिक इतिहासमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनका अवसरमा कार्यक्रमको प्रचारप्रसारका लागि तयार पारिएको ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनःनेपथ्य लाइभ इन शुक्लागण्डकी’ लेखिएको टिसर्टसमेत सार्वजनिक गरिएको थियो।

लायन्स इन्टरनेशनलको ‘पढाउ’ अभियानअन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक खुमबहादुर विक ‘राजु’ले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा १० हजारभन्दा बढी संगीतप्रेमीको सहभागिता रहने अपेक्षा गरिएको छ।

संयोजक विकले नेपथ्यको प्रस्तुतिमा दर्शकहरूले गीत–संगीतको भरपूर मनोरञ्जन लिँदै उत्साहपूर्वक सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार उक्त कार्यक्रमबाट करिब एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

कार्यक्रमबाट बचत हुने रकम विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न, शैक्षिक सामग्री तथा पोसाक वितरण गर्न उपयोग गरिने आयोजकहरूले जनाउनुभएको छ। साथै, सांगीतिक कार्यक्रममार्फत स्थानीय व्यवसाय तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने र लायन्स क्लबको सामाजिक सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको आयोजकहरूको भनाइ छ।

आयोजकहरूले शुक्लागण्डकीमा आयोजना हुने यस सांगीतिक कार्यक्रमलाई मनोरञ्जनसँगै सामाजिक सेवासँग जोडिएको अभियानका रूपमा अगाडि बढाउन लागिएको बताउनुभएको छ।

प्रतिकृया दिनुहोस