आज : Monday, November 23, 2026 | २०८३ मङ्सिर ८ सोमबार

समग्र भुपु बचत तथा ऋण सहकारीको १४औँ बार्षिक साधारणसभा सम्पन्न

लमजुङ ।
बेसीशहर नगरपालिकवडा नं ८ स्थित समग्र भुपु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार बेसिशहर-७  मनाङ्गे चौतारास्थित जनचेतना आमा समुहको भवनमा जिल्ला बचत संघ लमजुङका अध्यक्ष महेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा बार्षिक साधारणसभा सम्पन्न भएको हो।  

कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले बित्तीय संस्था नै भएपनी सहकारी संस्थामा अन्य बित्तीय संस्थाजस्तो नाफा नोक्सानको प्रभाव शेयर सदस्यहरुमा मात्र सिमित नरहने र बचतकर्ताहरुमा पनि पर्ने भएकाले शेयर सदस्य सँगै बचतकर्ताहरु पनि संस्थाको गतिबिधि र अवस्थाबारे जानकार हुनुपर्ने बताउनुभयो । कतिपय अवस्थामा बदमाशी नगर्दा पनि बित्तिय सन्तुलन मिलाउन नसक्दा समस्या देखिने अवस्था आउन सक्ने बताउनुभयो  । जति ऋण लगानी गर्यो त्यति धेरै मुनाफा हुन्छ भन्ने महत्वाकांक्षा बढ्दा पनि कतिपय सहकारी समस्यामा पर्ने गरेको बताउनुभयो । उहाँले निश्चित रकम बचत फिर्ताका लागि राख्नुपर्ने सुझाव दिनुभयो । प्रत्येक सहकारीले १० प्रतिशत भन्दा बढी रकम जगेडा कोषमा राख्नुपर्ने बताउनुभयो । सदस्यहरुलाइ व्यावसायिकता प्रवर्द्धन गर्न प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो ।  

साधारणसभाको अवसरमा बर्ष उत्कृष्ट कर्मचारीका रुपमा प्रबन्धक राजेन्द्र खत्रीलाइ सम्मान गरिएको छ । एसईई २०८२ मा ए प्लस ग्रेड ल्याइ उत्तीर्ण हुन सफल शेयर सदस्य प्रकाश चन्द्र दनाइका छोरा प्रनिश दनाईलाइ नगदसहित सम्मान गरिएको छ । 

सहकारी संस्थाका अध्यक्ष लेफ्टिनेन्ट कमल बहादुर अधिकारीले गत आर्थिक बर्षको गतिविधि र चालू आर्थिक बर्षको योजना समेटेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शेयर धनीहरुले मुनाफा लिनुभन्दा बचतकर्ताको बचतको सुरक्षा गर्न मुनाफाको ४० प्रतिशात रकम कर्जा जोखिम कोषमा राखिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो  । उहाँका अनुसार संस्थाले आर्थिक बर्ष २०८२/८३ मा बिना धितो कर्जा न्यूनीकरण गरिएको छ । यस्तै संस्थाको हिसाब सफ्टवेयर प्रणालीबाट गर्न  सुरु गरिएको छ । ऋण असुलिमा शुन्य सहनशीलताको नीति अवलम्बन गरिएको उहाँको भनाइ छ । 

संस्थाले आगामी दिनमा आन्तरिक लेखा परिक्षण प्रणालीलाइ अझ बढी प्रभावकारी बनाउन मासिक लेखा परिक्षण गरि सन्चालक समितिको बैठकमा प्रतिबेदन पेश गरिने  बताउनुभयो । प्रतिकुल अवस्थामा पनि सकारात्मक प्रतिफल दिन सफल भएको बताउदै उहाँले यसलाइ थप फलदायी बनाज्न सबैले आआफ्नो ठाउँबाट सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।   

साधारणसभामा गत आर्थिक बर्षको आर्थिक कारोबार समेटेर तयार पारिएको प्रतिबेदन कोषाध्यक्ष सुबेदार कृष्ण बहादुर भण्डारीले पेस गर्नुभएको थियो ।  संस्थाको आन्तरिक आर्थिक गतिबिधिबारे लेखा समिति संयोजक क्याप्टेन बिष्णु बहादुर कँडेलले जानकारी गराउनुभएको थियो । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष एवं बर्तमान सल्लाहकार ठाकुर प्रसाद बराल, सल्लाहकार डा ओम बहादुर रिमाल,  सदस्यहरुको प्रतिनिधित्व गर्दै बिजयराज श्रेष्ठले बोल्नुभएको थियो । 

कार्यक्रममा स्वागत गर्दै उपाध्यक्ष गुनाकुमारी अधिकारीले आफ्नै संस्थाबाट ऋण कारोबार गर्न आग्रह गर्नुभयो । देशमा युवा पलायन बढिरहँदा सहकारीहरुलाइ लगानी गर्न कठिन भैरहेको बताउनुभयो । कार्यक्रमको सन्चालन सचिव सुबेदार रमेश राउतले गर्नुभएको थियो ।  बि.सं.२०७० सालमा डेढ सय जनाबाट सुरु भएको सहकारीमा हाल झन्डै १६ सय बचतकर्ता पुगेको छ । 

प्रतिकृया दिनुहोस