श्री सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न
लमजुङ ।
लमजुङको श्री सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार सहकारीका सञ्चालक समितिका अध्यक्ष खोजबहादुर गुरुङको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष विजय गुरुङको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।
सभामा प्रमुख अतिथि विजय गुरुङले सहकारीको नीति, नियम र सिद्धान्तलाई सेयर सदस्य, सञ्चालक समिति, लेखा समिति तथा कर्मचारी सबैले अध्ययन गरी पालना गर्नुपर्ने बताउनुभयो। उहाँले सहकारीको साधारण सभा कम्तीमा वर्षमा एकपटक अनिवार्य रूपमा गर्नुपर्ने र ऋणको किस्ता तथा ब्याज समयमै भुक्तानी गर्न सदस्यहरूलाई आग्रह गर्नुभयो। सहकारीका सेयर सदस्य नै संस्थाका वास्तविक मालिक भएकाले सहकारीबाट ऋण लिएर उत्पादनमूलक तथा आयआर्जनका क्षेत्रमा लगानी गर्नुपर्ने उहाँको भनाइ थियो। ऋण असुलीका लागि धितो लिलाम गर्नुपर्ने अवस्था आउन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो। उहाँले श्री सुन्दरबजार बहुउद्देश्यीय सहकारीले बैंकसरह मोबाइल तथा अनलाइन सेवा प्रदान गरिरहेको उल्लेख गर्दै अन्य सहकारीको तुलनामा संस्था राम्रो अवस्थामा रहेको बताउनुभयो। राज्यको तेस्रो खम्बाका रूपमा रहेको सहकारी क्षेत्रले रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो।
साधारण सभामा अध्यक्ष खोजबहादुर गुरुङले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विवरणअनुसार सहकारीमा ७ हजार ५१५ जना सेयर सदस्य रहेका छन्। संस्थाको सेयर पुँजी ६७ करोड ३६ लाख २ हजार ९०० रुपैयाँ, बचत ६८ करोड ३३ लाख ४१ हजार ८०० रुपैयाँ र कर्जा लगानी ४७ करोड ४९ लाख ९१ हजार ७७ रुपैयाँ रहेको छ। त्यसैगरी, सहकारीको कुल कारोबार ८० करोड ५२ लाख ४४ हजार ३३६ रुपैयाँ र खुद आम्दानी ७७ लाख ६ हजार ६९२ रुपैयाँ रहेको विवरण प्रस्तुत गरिएको थियो।
सभामा कोषाध्यक्ष सीतामाया गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै आगामी अनुमानित बजेट, सेयर सदस्यको विवरण व्यवस्थित राख्ने तथा आवश्यक नीति–नियम निर्माण र कार्यान्वयन गर्ने विषय समेट्नुभएको थियो। यस्तै, लेखा समिति संयोजक मीनबहादुर गुरुङ र सहकारीका प्रबन्धक नेत्र गुरुङले पनि आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा निवर्तमान अध्यक्ष उत्तम गुरुङ, कर्मदा सिर्जना मञ्चका कार्यवाहक अध्यक्ष तथा साहित्यकार लक्ष्मीप्रसाद मिश्र, ठाडो भाका प्रतिष्ठानका अध्यक्ष, वरिष्ठ पत्रकार नवराज पहाडी, लक्ष्मीनारायण मिडिया एचडीका पत्रकार सन्देश पौडेल, गुम्बाका लामा गुरु, अमर गुरुङलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विजय गुरुङ, उत्तम गुरुङ, विष्णुभक्त अधिकारी र लक्ष्मीप्रसाद मिश्रले शुभकामना मन्तव्य राख्नुभएको थियो। सो अवसरमा साहित्यकार मिश्रले सान्दर्भिक कविता वाचनसमेत गर्नुभएको थियो। साधारण सभाका अवसरमा खुत्रुके तथा बाल बचत गर्ने उत्कृष्ट बालबालिकालाई टीका लगाई कदरपत्रसहित सम्मान गरिएको थियो।
साथै, कार्यक्रममा उपस्थित अन्य अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। सहकारीका उपाध्यक्ष रणबहादुर घलेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सचिव क्याप्टेन जितबहादुर गुरुङले गर्नुभएको थियो। सभाको अन्त्यमा अध्यक्ष खोजबहादुर गुरुङले प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, पत्रकार तथा सम्पूर्ण सेयर सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।








प्रतिकृया दिनुहोस