सिद्धेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशी मेला, मर्स्याङ्दीमा दुई फूलको डोली तारियो
लमजुङ।
लमजुङको प्रवेशद्वार सुन्दरबजार नगरपालिका–७, पाउँदीस्थित कर्मदा शिवजी मन्दिर (सिद्धेश्वर महादेव मन्दिर) मा हरिबोधिनी एकादशीको अवसरमा शुक्रबार विशाल धार्मिक मेला सम्पन्न भएको छ। हरेक वर्ष हरिबोधिनी एकादशीका दिन लाग्ने मेलामा यस वर्ष पनि हजारौँ तीर्थालु तथा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो।
एकादशीको अवसरमा मर्स्याङ्दी नदीमा दुईवटा फूलको डोली तार्ने कार्यक्रमसमेत गरिएको छ। शुक्रबार बिहानैदेखि भक्तजनले नदीमा फूलको तोरण तार्ने, फूल तथा तुलसी विसर्जन गर्ने, देवपूजन गर्ने र भजनकीर्तनलगायत धार्मिक गतिविधि गरेका थिए।
नदीमा पौडिएर तोरण तार्ने परम्परा रहँदै आए पनि यस वर्ष सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीको सहयोगमा र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको थियो। मर्स्याङ्दी नदीको वारि कर्मदा नदीस्थित शिवजी मन्दिर र पारि सर्वोदय सेवाश्रम तथा धर्मनाथ धाम यहाँका प्रमुख धार्मिक आकर्षण हुन्।
मेलामा साधुसन्तहरूको समेत बाक्लो उपस्थिति रहेको थियो। मेलाको अवसरमा विशाल हाटबजारसमेत सञ्चालन गरिएको थियो। हाटबजारमा फलफूल, कन्दमूल, बदाम, चिउरा, भटमासलगायत खाद्य सामग्रीका साथै हस्तकलाबाट निर्मित भकारी, नाङ्लो, थुन्से, डाला, ठेकी तथा फलामका कृषि औजार बिक्रीका लागि राखिएका थिए। त्यसैगरी लत्ताकपडा, सेलरोटी, जेरी, पकौडा, मःम, समोसालगायत खानेकुरा तथा दैनिक उपभोग्य सामग्रीको समेत बिक्रीवितरण गरिएको थियो।
मर्स्याङ्दी नदीमा फूलको डोली तार्ने कार्यक्रम मन्दिर संरक्षण समितिका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलको अध्यक्षता तथा गण्डकी प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री एवं मन्दिरका अध्यक्ष डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख, स्थानीय जनप्रतिनिधि, भोटेओडार इलाका प्रहरी कार्यालय तथा पाउँदी प्रहरी चौकीका प्रमुखलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी लोक तथा राष्ट्रिय प्रतिष्ठानका केन्द्रीय सदस्य एवं पत्रकार, कलाकार अनुज अधिकारी, लमजुङ ठाडोभाका जिल्ला सदस्य तथा भजन गायक पण्डित नवीन बराल, अन्य कलाकार, मन्दिर संरक्षण समितिका पदाधिकारी तथा स्थानीय भक्तजनहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कलाकार नवीन बराललगायत अन्य कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव गौतम पोखरेल र उपसचिव सुदीपकान्त अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
धार्मिक आस्था, परम्परा र स्थानीय व्यापारसँग जोडिएको पाउँदीको हरिबोधिनी एकादशी मेला लमजुङको करापुटारमा लाग्ने शिवरात्रि मेलापछिको जिल्लाकै दोस्रो ठूलो मेलाका रूपमा परिचित छ। यस मेलाले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै स्थानीय व्यापार व्यवसाय प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको छ।










प्रतिकृया दिनुहोस