आज : Monday, August 31, 2026 | २०८३ भदौ १५ सोमबार

मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन मनाङ प्रहरीको आग्रह 

लमजुङ ।
मनाङमा पछिल्लो समय भइरहेको अत्यधिक वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय मनाङले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रहरीका अनुसार लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र बाढीको जोखिमसमेत हुन सक्ने भएकाले मर्स्याङ्दी नदीको छेउछाउ तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दिव्याङ्ग व्यक्तिहरूलाई नदी तथा खोलाको आसपास नजान आग्रह गरिएको छ। 

त्यस्तै, नदी तथा खोलामा अनावश्यक रूपमा नजान र जोखिमपूर्ण क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ। सम्भावित विपद्बाट जोगिन स्थानीयवासीलाई मौसमको अवस्था बुझेर मात्र आवतजावत गर्न तथा आवश्यक सुरक्षा उपाय अपनाउनसमेत आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय मनाङले “सतर्क रहौँ, सुरक्षित रहौँ” भन्दै सबैलाई सुरक्षित रहन अपिल गरेको छ।

मनाङस्थित अन्नपूर्ण हिमशृङ्खलाको उत्तर पश्चिममा अवस्थित खाङ्सार खोला र झारसाङ खोला को सङ्गम भई मर्स्याङ्दी नदी उत्पत्ति भएको हो । यो नदि मुख्य रूपमा मनाङ र लमजुङ जिल्ला हुँदै बहन्छ । यसको तल्लो नदी प्रणाली गोरखा र तनहुँ जिल्लासम्म फैलिएको छ । 

प्रतिकृया दिनुहोस