आज : Thursday, October 15, 2026 | २०८३ असोज २९ बिहीबार

मर्स्याङ्दी गाउँपालिकामा बडादशैं लक्षित तीनदिने हाटबजार सुरु 

लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा बडादशैंलाई लक्षित गरी तीनदिने हाटबजार सुरु भएको छ। गाउँपालिका–३ स्थित कृषि तथा पशु सेवा केन्द्रको परिसरमा मंगलबारदेखि हाटबजार सञ्चालनमा आएको हो। मर्स्याङ्दी गाउँपालिकाको प्रवर्द्धन तथा कृषि तथा पशु हाटबजार सञ्चालक समितिको आयोजनामा सुरु भएको हाटबजारमा स्थानीय किसानले उत्पादन गरेका कृषि तथा पशुपन्छीजन्य उपज बिक्रीका लागि राखिएको छ। स्थानीय उत्पादनको बजारीकरण गर्ने र किसानलाई आफ्ना उत्पादनको उचित मूल्य दिलाउने उद्देश्यले हाटबजार सञ्चालन गरिएको हो।

हाटबजार शुभारम्भको अवसरमा गाउँपालिकाले गोरुपालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले ५६ जना किसानलाई जनही रु। ५ हजारका दरले कुल रु। २ लाख ८० हजार नगद प्रोत्साहन रकम प्रदान गरेको छ । यस हाटबजारले पशुपालन व्यवसायमा संलग्न किसानको मनोबल बढाउनुका साथै परम्परागत पशुपालनको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ  । हाटबजार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने आयोजकले जनाएको छ।

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार हाटबजारमा कृषि उपज बिक्री गर्ने किसानलाई बिक्री मूल्यको पाँच प्रतिशत र खसी, बोका, भेडा, कुखुरालगायत पशुपन्छी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको तीन प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ। साथै, किसानको उत्पादनले उचित मूल्य पाओस् भन्ने उद्देश्यले बिक्री गरिने वस्तुको समर्थन मूल्यसमेत निर्धारण गरिएको छ।

हाटबजारमा स्थानीय किसानले उत्पादन गरेका ताजा तरकारी, फलफूल, अनदी चामल, कागुनोलगायत कृषि उपज बिक्रीका लागि राखिएका छन्। त्यसैगरी खसी, बोका, भेडा, कुखुरा, परेवाजस्ता पशुपन्छीजन्य उपजसमेत बिक्रीका लागि उपलब्ध छन्। गाउँपालिकाले बडादशैंका अवसरमा बाह्य बजारबाट भित्रिने वस्तुमा मात्र निर्भर नभई स्थानीयस्तरमा उत्पादित कृषि तथा पशुपन्छीजन्य उपजको प्रयोग बढाउन उपभोक्तालाई आग्रह गरेको छ। स्थानीय उत्पादनको उपभोग र बजारीकरण बढाउन सके किसानले आफ्नो मेहनतको उचित मूल्य पाउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने गाउँपालिकाको विश्वास छ। 
 

प्रतिकृया दिनुहोस