लमजुङ सदरमुकाम बेँसीसहरमा किनमेल गर्नेको घुइँचो, छुट तथा सेलले ग्राहक आकर्षित
लमजुङ ।
नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भएसँगै लमजुङ सदरमुकाम बेँसीसहरमा किनमेल गर्नेको घुइँचो बढेको छ। दशैँका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, घरायसी सामग्रीलगायतका सामान खरिद गर्न जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण बेँसीसहर आउने गरेका छन्। लमजुङका मर्स्याङ्दी, दोर्दी, क्व्होलासोथार र दूधपोखरी गाउँपालिका तथा बेँसीसहर, राइनास, मध्यनेपाल र सुन्दरबजार नगरपालिकाका विभिन्न स्थानबाट समेतउपभोक्ताहरू किनमेलका लागि सदरमुकाम आउने गरेका छन्।
दशैँमा नयाँ लुगा लगाउने, घरपरिवारका लागि आवश्यक सामग्री जुटाउने तथा चाडपर्वका लागि खाद्यान्न खरिद गर्ने परम्पराका कारण बजारमा चहलपहल बढेको हो। बेँसीसहरमा लत्ताकपडा, किराना सामग्रीदेखि घरायसी प्रयोजनका सामान, विद्युतीय उपकरण, फर्निचर तथा फर्निसिङका सामग्री र अटोमोबाइलसम्बन्धी सामानसमेत पाइने भएकाले जिल्लाका विभिन्न क्षेत्रका उपभोक्ताका लागि यो प्रमुख व्यापारिक केन्द्र बनेको छ। आवश्यकताअनुसार एउटै बजारबाट विभिन्न प्रकारका सामग्री खरिद गर्न सकिने भएकाले पनि ग्रामीण क्षेत्रबाट आउने ग्राहकको आकर्षण बढ्ने गरेको छ। दशैँलाई लक्षित गर्दै बेँसीसहरका व्यवसायीहरूले विभिन्न सामानमा छुट तथा विशेष सेलको व्यवस्था गरेका छन्। चाडपर्वको समयमा ग्राहकलाई आकर्षित गर्न व्यवसायीहरूले लत्ताकपडा, जुत्ताचप्पललगायतका सामग्रीमा छुटका योजना ल्याएका छन्।
यस्ता छुट तथा सेलका कारण उपभोक्तालाई आफूलाई आवश्यक सामग्री खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ। यसैगरी, दशैँको समयमा स्थानीय कृषि तथा पशुजन्य उत्पादनको किनबेचसमेत हुने गरेको छ। गाउँगाउँमा उत्पादित कृषि उपज तथा पशुजन्य सामग्री बिक्रीवितरणका लागि बेँसीसहर बजारमा ल्याउने गरिन्छ। यसले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन तथा उत्पादक र उपभोक्ताबीचको कारोबारलाई सहज बनाउन सहयोग पुर्याएको छ। बडादशैँको आगमनसँगै बढेको बजारको चहलपहलले चाडपर्वको रौनक थपेको छ। गाउँ तथा नगरका विभिन्न स्थानबाट सर्वसाधारणको आवागमन बढेसँगै बेँसीसहरमा किनमेल तथा स्थानीय उत्पादनको व्यापारले समेत गति लिने गरेको छ।
अन्य समयमा खुला र केही सुनसान देखिने लमजुङ सदरमुकाम बेँसीसहरका सडक यतिबेला सवारीसाधन र सर्वसाधारणले भरिएका छन्। बडादशैँ नजिकिए सँगै किनमेलका लागि बजार आउनेको संख्या बढ्दा सडकमा सवारीसाधनको चापसमेत बढेको छ।
सानो बजार क्षेत्र, साँघुरा सडक र छुट्टै व्यवस्थित पार्किङस्थलको अभावका कारण बेँसीसहरमा सवारी व्यवस्थापन चुनौतीपूर्ण बनेको देखिन्छ। किनमेलका लागि आउने सर्वसाधारणले आफ्ना सवारीसाधन सडक छेउमै पार्किङ गर्दा सडकमा थप चाप पर्ने गरेको छ। चाडपर्वका बेला बढ्ने सवारी आवागमनलाई व्यवस्थित गर्न पर्याप्त पार्किङस्थलको व्यवस्था तथा प्रभावकारी ट्राफिक व्यवस्थापन आवश्यक देखिएको छ।








प्रतिकृया दिनुहोस