आज : Friday, October 16, 2026 | २०८३ असोज ३० शुक्रबार

हस्तमाया गुरुङ परिवारद्वारा सर्वोदय सेवाश्रममा खाद्यान्न तथा आर्थिक सहयोग  

लमजुङ ।
दशैँको पूर्वसन्ध्यामा लमजुङको राईनास नगरपालिका ८ हराबोटस्थित सर्वोदय सेवाश्रम, धर्मनाथ धाममा आश्रित बाबाआमाहरूलाई खाद्यान्न, भोजनसेवा तथा दक्षिणा प्रदान गरिएको छ। तनहुँको पुलिमराङ घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएकी सामाजिक तथा मानवीय सेवाभावले प्रेरित हस्तमाया गुरुङले आफ्ना स्वर्गीय पति ज्ञानबहादुर गुरुङको स्मृतिमा उक्त सहयोग गर्नुभएको हो।

सर्वोदय सेवाश्रमकी भूमिदाता आमा खुशीमाया गुरुङकी माइली छोरी हस्तमाया गुरुङ आफ्नी आमा खुशीमाया गुरुङ, कान्छी बहिनी दिलकुमारी गुरुङ, ज्वाइँ पदमराज गुरुङ, छोरा गगन गुरुङ तथा बुहारी वर्षा गुरुङसहित सपरिवार सेवाश्रम पुगेर बाबाआमाहरूलाई भोजनसेवा गराउनुभएको थियो।

उक्त अवसरमा चामल, दाल, आलु, तेल, चिनी, मसला लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको थियो। परिवारका तर्फबाट रु.२५ हजारभन्दा बढी मूल्यको खाद्यान्न सहयोग गरिएको साथै सेवाश्रममा आश्रित प्रत्येक बाबाआमालाई जनही रु। १ हजार २ सयका दरले दक्षिणा प्रदान गरिएको थियो। आर्थिक सहयोगअन्तर्गत हस्तमाया गुरुङबाट रु। २० हजार र उहाँका छोरा गगन गुरुङबाट रु। १० हजार प्रदान गरिएको छ। राइनासकोटको ढुङ्गेछाना भएको घरमा जन्मी–हुर्किएकी हस्तमाया गुरुङले आफ्ना स्वर्गीय पतिको स्मृतिलाई मानवीय सेवासँग जोड्दै चाडपर्वको अवसरमा असहाय तथा ज्येष्ठ नागरिक बाबाआमाहरूलाई सहयोग गर्नुभएको हो।

उहाँको यस कार्यले पारिवारिक श्रद्धा, सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सकारात्मक सन्देश दिएको छ। सर्वोदय सेवाश्रम परिवारले यस पुण्यकार्यका लागि हस्तमाया गुरुङ, गगन गुरुङ तथा सम्पूर्ण गुरुङ परिवारप्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै स्वर्गीय ज्ञानबहादुर गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ। 
 

प्रतिकृया दिनुहोस