आज : Saturday, October 10, 2026 | २०८३ असोज २४ शनिबार

शिक्षकको तलब निकासामा ढिलाइबारे मस्र्याङ्दी गाउँपालिकाको धारणा सार्वजनिक

लमजुङ। मस्र्याङ्दी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षक तथा कर्मचारीको तलब निकासामा भइरहेको ढिलाइबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। शाखाले समयमै तलब उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको जनाउँदै विद्यालयबाट तलब माग फाराम तथा आवश्यक कागजात समयमै प्राप्त नहुँदा निकासा प्रक्रियामा ढिलाइ भएको जनाएको छ।

शाखाका अनुसार गत जेठ २८ गते प्रधानाध्यापकहरूको उपस्थितिमा शिक्षक तथा कर्मचारीको मासिक तलब माग र निकासासम्बन्धी कार्यतालिका निर्धारण गरिएको थियो। कार्यतालिकाअनुसार विद्यालयले प्रत्येक महिनाको अन्तिम दिनसम्म तलब माग फाराम बुझाउनुपर्नेछ। शिक्षा शाखाले अर्को महिनाको ३ गतेभित्र फाराम स्वीकृत गर्ने, विद्यालयले स्वीकृत फारामसहित आवश्यक कागजात ५ गतेभित्र पेस गर्ने र गाउँपालिकाले ७ गतेभित्र तलब निकासा गर्ने व्यवस्था गरिएको छ।

शाखाले केही विद्यालयबाट समयमै तलब माग फाराम प्राप्त नहुनु, एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा शिक्षक तथा कर्मचारीको विवरण अद्यावधिक नहुनु, फाराम अपूर्ण हुनु र विवरणमा त्रुटि देखिनुलाई निकासा प्रक्रियामा समस्या उत्पन्न हुनुका कारणका रूपमा उल्लेख गरेको छ।

त्यस्तै, कतिपय विद्यालयले शिक्षक तथा कर्मचारीले पाउनुपर्ने तलब, भत्ता र चाडपर्व खर्चसमेत वास्तविक विवरणभन्दा कम माग गर्ने गरेको शाखाको भनाइ छ। आवश्यक विवरण र कागजात पूरा नभएसम्म कानुनी प्रक्रिया पूरा गरी तलब निकासा गर्न कठिनाइ हुने भएकाले विद्यालयहरूलाई विवरण अद्यावधिक राख्न र नियमानुसार पूर्ण तलब माग फाराम पेस गर्न आग्रह गरिएको छ।

शिक्षक तथा कर्मचारीले साउनदेखि तलब नपाएको विषय सार्वजनिक भइरहेका बेला तलब निकासामा हुने ढिलाइले उनीहरूको दैनिक जीवनयापन तथा विद्यालयको पठनपाठनमा असर पर्न सक्छ। त्यसैले गाउँपालिकाले प्राप्त कागजातको समयमै जाँच गरी निकासा प्रक्रिया अघि बढाउनु र विद्यालयहरूले निर्धारित समयभित्र आवश्यक विवरण तथा कागजात पेस गर्नु आवश्यक देखिन्छ।

गाउँपालिकाको प्रतिबद्धता र विद्यालयहरूको समयमै प्रक्रिया पूरा गर्ने जिम्मेवारीबीच प्रभावकारी समन्वय हुन सके शिक्षक तथा कर्मचारीले नियमित रूपमा तलब पाउने र शैक्षिक गतिविधि व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस