आज : Thursday, October 15, 2026 | २०८३ असोज २९ बिहीबार

६३ औं विश्व सेतो छडी सुरक्षा दिवस कार्यक्रम सम्पन्न ।

लमजुङमा दृष्टिविहीनको सुरक्षित आवागमन र ट्राफिक सचेतनामा जोड दिँदै ६३ औं विश्व सेतो छडी सुरक्षा दिवस मनाइएको छ ।
मंगलबार भोटेओडारमा एक कार्यक्रमको आयोजना गरी ट्राफिक सचेतनासहित दिवस मनाइएको हो ।
औपचारिक कार्यक्रमअघि सुन्दरबजार नगरपालिका–९, बोकेका थिए ।
नेपाल नेत्रहीन संघको समावेशी विकासका लागि कार्य परियोजनाको सहयोग र बेंसीशहर नगरपालिकासंगको सहकार्यमा लमजुङ नेत्रहीन संघले ट्राफिक सचेतनासहितको कार्यक्रम आयोजना गरेको हो । हरेका वर्ष अक्टोबर १५ मा मनाइने यो दिवस दसैंलाई मध्यनजर गर्दै लमजुङमा मंगलबार नै यो दिवस मनाइएको आयोजकले जनाएको छ ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्य परियोजनाका पुनर्स्थापना अधिकृत प्रेम महर्जनले विश्व सेतो छडी सुरक्षा दिवस र ट्राफिक सचेतना कार्यक्रमबारे जानकारी गराएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै दोर्दी गाउँपालिका अध्यक्ष विच्छबहादुर घलेले दृष्टिविहीनसहित सबै अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न समाज र राज्य जिम्मेवार हुनुपर्ने बताए । उनीहरूलाई हेयको दृष्टिले हेर्ने प्रवृत्ति अन्त्य गर्दै शिक्षा, रोजगारी र स्वरोजगारका अवसर उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । अपांगता भएका व्यक्तिले आत्मसम्मानका साथ जीवनयापन गर्न सक्ने वातावरण निर्माणमा स्थानीय तहले समेत ध्यान दिनुपर्ने उनले बताए ।
लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सेतो छडी दृष्टिविहीनको स्वतन्त्रता, आत्मसम्मान र पहिचानको प्रतीक भएको बताए । उनले सेतो छडी लिएर सडकमा हिँड्ने व्यक्तिको सुरक्षामा सबैले ध्यान दिनुपर्ने, दृष्टिविहीनको स्वतन्त्र आवागमन सुनिश्चित गर्न सडक र सार्वजनिक सेवा सहज तथा सुरक्षित हुनुपर्ने बताए ।
कार्यक्रममा लमजुङ नेत्रहीन संघको भवन निर्माणका लागि जग्गादाता मोहनकृष्ण श्रेष्ठ, जग्गा प्राप्ति सहजीकरण संयोजक हरिप्रसाद अधिकारी र भविष्य निर्माण माध्यमिक विद्यालयका प्रधानाध्यापक मायानाथ अधिकारीलगायतले दृष्टिविहीनको जीवनयापन सहज बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनीहरूले सडक, विद्यालय, सरकारी कार्यालय तथा सार्वजनिक सेवा प्रवाह हुने संरचना अपांगतामैत्री बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सार्वजनिक यातायातमा अपांगता भएका व्यक्तिलाई दिइने ५० प्रतिशत भाडा छुट प्रभावकारी रूपमा कार्यान्वयन गर्न, रोजगारीका अवसर सुनिश्चित गर्न तथा सेतो छडी प्रयोग गर्ने व्यक्तिको सुरक्षामा ध्यान दिनुपर्ने माग उठाइएको थियो । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले व्यवस्था गरेको भाडा छुट व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा सहभागीले जोड दिएका थिए ।
लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य प्रभात घिमिरेले स्वागत मन्तव्य राखेका थिए । संघका सचिव विष्णु पोख्रेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा जिल्लाभरका दृष्टिविहीन, उनीहरूका सहयोगी, ट्राफिक प्रहरी र जनप्रतिनिधिको सहभागिता रहेको परियोजनाका वरिष्ठ फिल्ड सुपरभाइजर जीवन डल्लाकोटीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस