लमजुङ र मनाङमा मर्स्याङ्दी करिडोर प्रसारण लाइनको सार्वजनिक सुनुवाइ सम्पन्न
लमजुङ ।
लमजुङ र मनाङ जिल्लामा निर्माणाधीन मर्स्याङ्दी करिडोर (मनाङ–उदीपुर) २२० केभी प्रसारण लाइन आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। आइतबार मनाङको नासों गाउँपालिकाबाट सुरु भएको सार्वजनिक सुनुवाइ कार्यक्रम लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ स्थित भुलभुले हुँदै सोमबार बेँसीसहर नगरपालिकास्थित जिल्ला समन्वय समितिको सभाहलमा तेस्रो सार्वजनिक सुनुवाई सम्पन्न भएको हो। नेपाल विद्युत् प्राधिकरण सामाजिक सुरक्षा तथा वातावरण व्यवस्थापन विभागको प्रस्तावनामा परामर्शदाता संस्था प्रिस्टीन सर्भिसेज प्रा.लि.भक्तपुरले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो।
लमजुङको बेँसीसहर नगरपालिका वडा नम्बर १, २, १० र ११ क्षेत्रका आयोजना प्रभावित नागरिकलाई लक्षित गरी जिससमा आयोजित कार्यक्रममा बेँसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालको प्रमुख आतिथ्यता रहेको थियो। प्रभावित चारवटा वडामध्ये वडा नं १० का वडाध्यक्ष गंगा बहादुर थापाको मात्र उपस्थिति रहेको थियो। आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सरोकारवाला व्यक्ति तथा संस्थाहरूको राय, सुझाव र प्रतिक्रिया सङ्कलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ गरिएको हो।
कार्यक्रममा बेँसीसहर नगरपालिका वडा नं. २ का सूर्यबहादुर पराजुली, वडा नं. ११ का टुक बहादुर नेपाली, चन्द्र बहादुर घिमिरे, वडा नं. ११ का भोला शर्मा, वडा नं. २ का प्रविण बराल, वडा नं. ८ का होम बहादुर राना, मानव अधिकारकर्मी तथा वडा नं. १ का स्थानीय चन्द्र बहादुर मिश्र, वडा नं. १० का देवीप्रसाद गुरुङ, वडा नं. ११ का ज्ञानेन्द्र मगर, वडा नं. १० का बेल बहादुर घिमिरे, खेमजंङ्ग गुरुङ लगायतले आफ्ना राय, सुझाव एवं गुनासा राख्नुभएको थियो। सुझाव तथा गुनासा राख्ने वक्ताहरूले प्रभावित नागरिकको चित्त बुझ्ने गरी मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका थिए। मर्स्याङ्दी करिडोरको रुट परिवर्तन नहुने भए उचित मुआब्जा दिनुपर्ने, टावर निर्माण भएका ठाउँको जग्गा खेती गर्न तथा धितो राख्नसमेत नपाउँदा समस्या भएको उनीहरूको भनाइ थियो। त्यस्तै, आयोजनासम्बन्धी अध्ययन प्रतिवेदनहरू प्रभावित नागरिकले सहजै जानकारी पाउन सक्ने गरी सार्वजनिक गर्नुपर्ने, प्रभावित नागरिकको वास्तविक आवश्यकता पहिचान गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सञ्चालन गर्नुपर्ने र यसअघिका प्रतिवेदनहरूमा वास्तविक तथ्याङ्कभन्दा फरक विवरण राखिएको भन्दै वक्ताहरूले प्रश्न उठाएका थिए। टावरसम्म पुग्ने बाटोमा पर्ने जग्गाका धनीले क्षतिपूर्ति पाउने वा नपाउने विषय स्पष्ट पार्नुपर्ने तथा उब्जनीका आधारमा जग्गाको वर्गीकरण गरी क्षतिपूर्ति दिनुपर्ने मागसमेत उनीहरूले गरेका थिए।
सार्वजनिक सुनुवाइमा उठेका गुनासा एवं जिज्ञासाको सम्बोधन गर्दै नेपाल विद्युत् प्राधिकरण सामाजिक सुरक्षा तथा वातावरण व्यवस्थापन विभागका प्रतिनिधि इ. प्रविण खपाङ्गीले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सञ्चालन गर्न सात प्रकारका तालिमका लागि टेन्डर प्रक्रिया अघि बढाइएको जानकारी गराउनुभयो। उहाँले प्रभावित नागरिकका गुनासा सुनेर सकेसम्म सम्बोधन गर्ने प्रयास भइरहेको बताउनुभयो।
सार्वजनिक सुनुवाइअघि आयोजनाको प्रगति र वर्तमान अवस्थाबारे मर्स्याङ्दी करिडोर (मनाङ–उदीपुर) २२० केभी विद्युत् प्रसारण लाइन आयोजनाका प्रशासन प्रमुख सुरेन्द्र शर्मा र एसईआईएको अध्ययन टोली संयोजक बिजय महर्जनले पूरक वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन विधि, अध्ययनबाट प्राप्त जानकारी तथा अध्ययनले गरेका सिफारिसका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रममा बेँसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्याल, बेँसीसहर नगरपालिका वडा नं. १० का वडाध्यक्ष गंगाबहादुर थापा लगायतले बोल्नुभएको थियो। कार्यक्रममा आयोजनाका सहायक प्रबन्धक कमलराज चुके, जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले लगायतको उपस्थिति रहेको थियो। नेपाल विद्युत् प्राधिकरण सामाजिक सुरक्षा तथा वातावरण व्यवस्थापन विभागका प्रतिनिधि इ. प्रविण खपाङ्गीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एस ईआईएको अध्ययन टोली सदस्य बिजय मिश्रले गर्नुभएको थियो।
यसअघि आइतबार मनाङको नासों गाउँपालिका–१ स्थित ताल सामुदायिक भवन र सोमबार बिहान १० बजे लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ स्थित भुलभुले सामाजिक भवनमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको थियो।
आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिन सातदिने सार्वजनिक सूचना प्रकाशन गरी थप राय–सुझाव सङ्कलन गरिनेछ। त्यसपछि प्रभावित स्थानीय तहबाट राय–सुझावसहित सिफारिस प्राप्त गरी अन्तिम प्रतिवेदन तयार पारिनेछ। तयार प्रतिवेदन नेपाल विद्युत् प्राधिकरणमा पेस गरिनेछ। आवश्यक प्रक्रिया पूरा गरी प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइनेछ। प्रतिवेदन स्वीकृत भएपछि वातावरणीय व्यवस्थापनका निर्धारित उपाय तथा सर्तहरू पालना गर्दै आयोजना कार्यान्वयनको प्रक्रिया अघि बढ्नेछ।










प्रतिकृया दिनुहोस