आज : Tuesday, November 24, 2026 | २०८३ मङ्सिर ९ मंगलबार

बेँसीशहरमा सातौँ नगर कप सुरु, पहिलो दिन मैत्रीपूर्णसहित दुई वटा खेल सम्पन्न  

लमजुङ ।
लमजुङको बेँसीशहर नगरपालिकामा आज मंगलबारदेखि सातौँ नगर कप–२०८३ वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ। बेँसीशहर नगरपालिका र नगर खेलकुद विकास समितिको आयोजनामा बेँसीशहरस्थित सहजी खेल मैदानमा मंगलबारदेखि प्रतियोगीता सुरु भएको हो । प्रतियोगीताको उद्घाटन नगरप्रमुख गुमानसिंह अर्यालले गर्नुभएको छ । स्वास्थ्य, अनुशासन र गतिशीलतालाई प्रवर्द्धन गर्दै स्थानीय खेलाडीलाई प्रोत्साहन र प्राथमिकता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान तथा विकासमा सहयोग पुग्नुका साथै खेलाडीहरूलाई आफ्नो खेलकौशल र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। 

प्रतियोगीता उद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख अर्यालसहित जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद खनाल, नगर खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल घलेलगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन संचारकर्मी सुनिल खनालले गर्नुभएको थियो । 

आज एक मैत्रीपूर्णसहित दुई वटा खेल भएका छन् । बेँसीशहर नगरपालिकाका कर्मचारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुको टिमबीच मैत्रीपूर्ण खेल भएको थियो । जसमा बेँसीशहर नगरपालिकाको कर्मचारीहरुको टिमले जित निकालेर खसी पुरस्कार प्राप्त गरेको छ । प्रतियोगीता अन्तर्गत आज नै बेँसीशहर नगरपालिका वडा नं. १० र ४ बीच खेल भएको थियो । २/२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा वडा नं. ४ ले विजयी सुरुवात गरेको छ । 

प्रतियोगीताको दोस्रो दिन भोली बुधबार तीन खेल हुने कार्यक्रम संचालक सुनिल खनालले जानकारी दिनुभयो । बुधबार बिहान ९ बजेबाट बेँसीशहर नगरपालिका वडा नं. ९ र ११ बीच दिनको पहिलो खेल हुने छ । त्यसपछि दोस्रो खेल बेँसीशहर नगरपालिका वडा नं. ७ र २ तथा वडा नं. ५ र ३ बीच खेल हुने जनाईएको छ ।  मंसिर १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका ११ वटै वडाबाट टिम सहभागी भएका छन् । 

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, बेस्ट फरवार्ड, बेस्ट डिफेन्स, बेस्ट स्ट्राइकर र बेस्ट मिडफिल्डरलाई जनही पाँच हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताले खेलकुदको विकाससँगै आपसी एकता र सद्भाव अभिवृद्धिमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस