आज : Tuesday, November 17, 2026 | २०८३ मङ्सिर २ मंगलबार

बेँसीशहर नगरपालिकाद्वारा अनुदानमा जै घाँसको बीउ वितरण सुरु, पहिलो दिन २ सय ६३ कृषक लाभान्वित

लमजुङ।  
लमजुङको बेँसीशहर नगरपालिकाले कृषकलाई अनुदानमा जै घाँसको बीउ वितरण सुरु गरेको छ। सोमबार नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखा र कृषि विकास शाखामार्फत बीउ वितरण सुरु गरिएको हो। गाई, भैँसी तथा बाख्रापालनमा आबद्ध कृषकलाई लक्षित गरी बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ। बजारमा प्रतिकिलो १ सय ५० रुपैयाँसम्म पर्ने जै घाँसको बीउ नगरपालिकाले अनुदानमा प्रतिकिलो ४१ रुपैयाँमा उपलब्ध गराएको छ। कृषि शाखाका पशु स्वास्थ्य प्राविधिक युवराज सुनारका अनुसार वितरणको पहिलो दिन २ सय ६३ जना कृषकले बीउ लगेका छन्।

नगरपालिकाले कुल ४ हजार ८ सय किलो बीउ वितरणका लागि छुट्याएकोमा पहिलो दिन बेँसीशहर क्षेत्रमा ३ हजार ९ सय किलो बीउ वितरण गरिएको उहाँले जानकारी दिनुभयो। 

बेँसीशहर नगरपालिका–११ चितिमा भने मंसिर १ गते मंगलबारदेखि बीउ वितरण गरिने भएको छ। चितिका लागि ४ सय किलो बीउ पठाइने जनाइएको छ। छुट्याइएको बीउ नसकिएसम्म वितरण कार्यक्रम जारी रहने पशु स्वास्थ्य प्राविधिक सुनारले बताउनुभयो।

बीउ लिन बेँसीशहर नगरपालिका–२ भकुण्डेबाट आउनुभएकी कविता बरालले नगरपालिकाले अनुदानमा बीउ उपलब्ध गराउँदा कृषकलाई महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता कम भएको बताउनुभयो। उहाँले वडावडामै बीउ वितरण गर्ने व्यवस्था मिलाउन सके कृषकलाई थप सहज हुने सुझाव दिनुभयो। त्यस्तै, बेँसीशहर नगरपालिका–७ की सुमित्रा बस्नेतले बीउ लिन बिहान साढे ९ बजेदेखि लाइनमा बसे पनि साढे १२ बजे मात्र पालो आएको बताउनुभयो। विगतमा नगरपालिकाबाट वितरण गरिएका मौसमी तरकारी तथा फलफूलका बीउबिजनबाट अपेक्षाअनुसार उत्पादन हुन नसकेको अनुभव सुनाउँदै उहाँले गुणस्तरीय र स्थानीय माटो तथा हावापानी सुहाउँदो बीउबिजन वितरण गर्न सुझाव दिनुभयो। नगरपालिकाले बीउ लिन आउने कृषकलाई आफ्नो परिचय खुल्ने कागजात साथमा ल्याउन अनुरोध गरेको छ। 

प्रतिकृया दिनुहोस