मर्स्याङ्दीमा जारी निःशुल्क स्त्रीरोग स्वास्थ्य शिविरमा सोमबार ८४ महिला लाभान्वित
लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सञ्चालन भइरहेको निःशुल्क स्त्रीरोग स्वास्थ्य परीक्षण तथा उपचार शिविरको तेस्रो दिन ८४ जना महिला लाभान्वित भएका छन्। कार्तिक ३० गते गाउँपालिकाको वडा नं. ९ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको शिविरमा ८४ जना महिलाले निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका हुन्। शिविरमा स्वास्थ्य परीक्षण गराएका महिलामध्ये तीन जनालाई थप उपचारका लागि चिकित्सकको सल्लाहअनुसार काठमाडौं लगेर निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिने भएको छ।
महिलाका लागि महिला संस्था, नेदरल्यान्ड्स (Women for Women Foundation, Netherlands) र स्वदेशी नेपाल (SoDeSI Nepal) को प्रायोजन तथा मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन भइरहेको हो। शिविरमा वडा नं. ९ का वडाध्यक्ष हरिश्चन्द्र थापा, जनप्रतिनिधि, स्वदेशी नेपालका कार्यक्रम संयोजक भेषबहादुर खड्का, महिलाका लागि महिला संस्थाका नेपाल प्रतिनिधि विश्वनाथ पौड्याल तथा महिला विशेषज्ञ चिकित्सकहरूको उपस्थिति रहेको थियो।
कार्तिक २८ गतेदेखि मंसिर ३ गतेसम्म गाउँपालिकाका सबै वडालाई समेटेर सञ्चालन हुने शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ महिला चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा निःशुल्क उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। विशेषगरी पाठेघर तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या भएका महिलालाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट ग्रामीण क्षेत्रका महिलालाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका सबै वडामा तोकिएको मिति र स्थानमा शिविर सञ्चालन हुने भएकाले गाउँपालिकाले सम्पूर्ण महिलालाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिन आग्रह गरेको छ।





प्रतिकृया दिनुहोस