खुदीमा भोलिदेखि हुने हरिबोधनी एकादशी मेला तथा खेलकुद–सांस्कृतिक कार्यक्रमको तयारी पूरा
लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा भोलि मंसिर ४ गतेदेखि आयोजना हुने हरिबोधनी एकादशी मेला तथा खेलकुद–सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।
ठूली एकादशीको अवसरमा खुदी युथको आयोजनामा सञ्चालन हुने १० दिने मेलालाई व्यवस्थित र भव्य बनाउन आवश्यक तयारी पूरा गरिएको आयोजकले जनाएको छ। “विविधतामा एकता हाम्रो पहिचान, इतिहास, धर्म संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको मेलामा खेलकुद, कला, संस्कृति, मनोरञ्जन तथा सामाजिक सेवाका विभिन्न कार्यक्रम समावेश गरिएको छ।
मेलाको मुख्य आकर्षणका रूपमा खुला पुरुष फुटबल प्रतियोगिता, वडास्तरीय क्लब पुरुष भलिबल प्रतियोगिता, खुला छेलो प्रतियोगिता तथा महिला कुर्सी दौड सञ्चालन हुनेछन्। खुला पुरुष फुटबल प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ पुरस्कार पाउनेछ। त्यस्तै, वडास्तरीय क्लब पुरुष भलिबल प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। खुला छेलो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
यसैगरी, सांस्कृतिक कार्यक्रमअन्तर्गत फूलको डोली तान्ने, भजनकीर्तन, एकादशी सांस्कृतिक साँझ तथा राष्ट्रिय कलाकार अर्जुन सापकोटा र स्थानीय कलाकार प्रशान्त तामाङको सांगीतिक प्रस्तुति रहनेछ।
मेलाको अवसरमा स्थानीय कृषि उत्पादनको प्रवर्द्धनका लागि कृषि प्रदर्शनी तथा खरिदबिक्री कार्यक्रमसमेत सञ्चालन गरिनेछ। त्यस्तै, खुदी स्वास्थ्य चौकीको समन्वयमा निःशुल्क मिर्गौला परीक्षण शिविर पनि आयोजना गरिने आयोजकले जनाएको छ।
मर्स्याङ्दी गाउँपालिकाको मुख्य प्रायोजन तथा गाउँपालिकाको वडा नम्बर ३ को सहप्रायोजनमा सञ्चालन हुने मेलाले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै खेलकुद तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आयोजक खुदी युथले मेलामा सहभागी भई कार्यक्रम सफल बनाउन स्थानीयवासी, खेलप्रेमी, कलाकार तथा सर्वसाधारणलाई आग्रह गरेको छ।








प्रतिकृया दिनुहोस