राइनासको सर्वोदय सेवाश्रममा रहेका ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण
लमजुङ ।
लमजुङको राइनास नगरपालिका–८, हराबोटस्थित सर्वोदय सेवाश्रममा रहेका ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण गरिएको छ।
मासिक रूपमा सञ्चालन हुँदै आएको स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत स्वास्थ्य चौकी तार्कुघाटकी सावित्री श्रेष्ठ र राइनास नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सामाजिक मनोसामाजिक परामर्श विज्ञ आत्माराम यादवले आश्रममा रहेका ज्येष्ठ नागरिक तथा अन्य कर्मचारीहरूको स्वास्थ्य परीक्षण गर्नुभएको हो।
स्वास्थ्य परीक्षणका क्रममा मधुमेह, उच्च रक्तचापलगायत विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई आवश्यक औषधिसमेत वितरण गरिएको थियो।
आश्रमका प्रचारप्रसार संयोजक लक्ष्मीप्रसाद मिश्रले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै नियमित रूपमा स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि वितरण गर्दै आएकोमा स्वास्थ्यकर्मीहरूप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले यस्तो मानवीय सेवाले आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमा सहजता पुगेको बताउनुभएको छ।






प्रतिकृया दिनुहोस