बेसीशहरको क्याम्पसरोडमा १८ व्यवसायको अनुगमन, तीन पसललाई दर्ता गर्न निर्देशन
लमजुङ । लमजुङको बेसीशहर नगरपालिका–८ स्थित क्याम्पसरोड क्षेत्रमा १८ वटा व्यवसायको बजार अनुगमन गरिएको छ। चाडपर्व लक्षित बजार अनुगमनअन्तर्गत बुधबार किराना पसल १३, होटल एक, फलफूल पसल एक तथा खाजा र चटपटे पसल तीन वटाको अनुगमन गरिएको हो।
अनुगमनका क्रममा दर्ताबिना सञ्चालनमा रहेका तीन वटा खाजा तथा चटपटे पसललाई सात दिनभित्र व्यवसाय दर्ता गर्न निर्देशन दिइएको छ।
आर्थिक वर्ष २०८३/८४ मा जिल्लामा गरिएको यो नवौँ पटकको बजार अनुगमन हो भने चाडपर्व लक्षित दोस्रो अनुगमन हो। अनुगमन टोलीले व्यवसायमा मूल्यसूची राखे–नराखेको, म्याद गुज्रिएका सामग्रीको अवस्था, सरसफाइ, खाद्यवस्तुको गुणस्तर तथा उपभोक्ता हितसँग सम्बन्धित विषयको निरीक्षण गरेको थियो। टोलीले व्यवसायीलाई उपभोक्ता हित संरक्षण तथा खाद्य सुरक्षासम्बन्धी आवश्यक सुझावसमेत दिएको जनाएको छ।
अनुगमनमा एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकाल, उद्योग वाणिज्य संघका प्रतिनिधि यज्ञनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य जनक श्रेष्ठ, उपभोक्ता हित मञ्चका प्रतिनिधि रामराज खनियाँ र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि दिननाथ अधिकारी सहभागी हुनुभएको थियो ।
चाडपर्वका समयमा हुन सक्ने मूल्यवृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री–वितरण नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।









प्रतिकृया दिनुहोस