महिलाको आयआर्जन बढाउने उद्देश्यले मर्स्याङ्दीमा अचार बनाउने तालिम संचालन हुँदै
लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले महिलालाई लक्षित गरी ५ दिने आयमूलक तथा सीपमूलक अचार बनाउने तालिम सञ्चालन गर्ने भएको छ। वडा नं. ४ र ५ का महिलाका लागि कात्तिक ११ गतेदेखि १५ गतेसम्म देउरी सामुदायिक भवनमा तालिम सञ्चालन हुनेछ।
त्यस्तै वडा नं. ६ र ७ का महिलाका लागि कात्तिक १२ गतेदेखि १६ गतेसम्म दोभानचौर सामुदायिक भवनमा अचार बनाउने तालिम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। तालिममा सम्बन्धित वडाबाट १५/१५ जना सहभागी हुनेछन्। तालिम बिहान १० बजेदेखि सुरु हुनेछ।
गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअनुसार महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको हो। तालिममा सहभागी हुन इच्छुक महिलाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ। थप जानकारीका लागि वडा नं. ५ का वडास्तरीय सञ्जालका अध्यक्ष धनकुमारी गुरुङ र वडा नं. ६ का वडास्तरीय सञ्जालका अध्यक्ष चन्द्र घलेसँग सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ।









प्रतिकृया दिनुहोस