आज : Sunday, October 04, 2026 | २०८३ असोज १८ आइतबार

मर्स्याङ्दी–३, खुदीमा मौरीपालनसम्बन्धी तालिम संचालन

लमजुङ ।
मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा मौरी पकेट विकास कार्यक्रमअन्तर्गत आधारभूत मौरीपालनसम्बन्धी चारदिने तालिम जारी छ। हिजो बिहिबारदेखि सुरु भएको तालिम असोज १८ गते आईतबारसम्म सञ्चालन हुने छ । 

तालिमको बिहिबार मर्स्याङ्दी गाउँपालिकाकी उपाध्यक्ष जुना माया थापाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो। तालिम उद्घाटन कार्यक्रम मौरी पकेट विकास कार्यक्रममा छनोट भएको खुदी कृषक समूहका अध्यक्ष मधुराम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ३ का अध्यक्ष दुधमान तामाङको विशेष आतिथ्यता रहेको थियो। यस्तै, गाउँपालिका कार्यपालिका सदस्य पारकाशी गुरुङ, वडा नं. ३ का सदस्य सुमन गुरुङ, मर्स्याङ्दी गाउँपालिका कृषक सञ्जालका अध्यक्ष रवि थापालगायत कृषि सेवा, पशु सेवा तथा आयुर्वेद शाखाका प्रतिनिधि, नाफा परियोजनाका सहजकर्ता तथा खुदी कृषक समूहका सदस्यहरूको उपस्थिति रहेको थियो। 

तालिममा सहभागी कृषकलाई मौरीपालनका आधारभूत ज्ञान, मौरी व्यवस्थापन, घार व्यवस्थापन, मौरीको आहार, रोग तथा शत्रु व्यवस्थापन, मह उत्पादनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक सीप प्रदान गरिनेछ। व्यावसायिक मौरीपालनको प्रवर्द्धन, कृषकको आयआर्जनमा वृद्धि तथा स्थानीयस्तरमा मौरीपालन व्यवसायको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिमको पहिलो दिन एलआई–बर्ड (LI-BIRD) का बी किपिङ अफिसर सुशन लामिछाने मुख्य प्रशिक्षकका रूपमा रहेका छन्।

प्रतिकृया दिनुहोस