आज : Thursday, October 08, 2026 | २०८३ असोज २२ बिहीबार

दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै लमजुङमा पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन

लमजुङ ।
दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै लमजुङमा पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यात्राका क्रममा यात्रुलाई पर्ने समस्या, सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी गुनासो र सुझाव तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो ।

बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले बेँसीशहर नगरपालिका–२ भकुण्डे चालिसेचोकमा यात्रु सहायता कक्षको उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, लमजुङ कालिका यातायात प्रालिका अध्यक्ष पूर्णलाल श्रेष्ठ, बेँसीशहर–२ का वडा सदस्य गुमानसिंह कँडेललगायत यातायात व्यवसायी तथा सरोकारवालाको सहभागिता थियो ।

यस्तै, जिल्लाको मुख्य प्रवेशद्वार सुन्दरबजार नगरपालिका–७ पाउँदीमा पनि प्रमुख जिल्ला अधिकारी खनालले रिबन काटेर सहायता कक्षको शुभारम्भ गर्नुभयो । सुन्दरबजार–९ सिउँडीबार चोक र मध्यनेपाल नगरपालिका–७ पाखुरीचोकमा ट्राफिक प्रहरी तथा सम्बन्धित इलाका प्रहरी कार्यालयका कर्मचारीको समन्वयमा सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

राइनास नगरपालिका–६ धमिलीकुवा चोकमा इलाका प्रहरी कार्यालय भोटेवडारका प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईको उपस्थितिमा यात्रु सहायता कक्ष उद्घाटन गरिएको छ ।

दसैं, तिहार र छठका बेला यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवस्थापन, यात्रुको सुरक्षा तथा गुनासो सम्बोधनलाई प्रभावकारी बनाउन सहायता कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, ट्राफिक नियम पालना गरी सवारी चलाउने एक जना चालकलाई प्रमुख जिल्ला अधिकारी खनालसहित सहभागीले अबिर, खादा र फूलगुच्छाले सम्मान गर्नुभएको छ ।  

प्रतिकृया दिनुहोस