एमाले बेँसीशहर–६ मा वडास्तरीय प्रशिक्षण तथा दसैँ शुभकामना आदानप्रदान
लमजुङ ।
नेकपा एमाले वडा कमिटी बेँसीशहर नगरपालिका–६ को आयोजनामा वडास्तरीय प्रशिक्षण तथा दसैँ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। मंगलबार नेकपा एमालेकी केन्द्रीय सदस्य डा.विन्दा पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि पाण्डेले गएको फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा एमालेबाट टाढिएका जनताको मन फर्काउन पार्टीले पहल गर्नुपर्ने बताउनुभयो। उहाँले जनताको मन जित्न एमालेले समयअनुकूल नयाँ कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिनुभयो। साथै, जनताको कुरा सुनेर नीति र विधिअनुसार पार्टी सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
वडा कमिटी अध्यक्ष इन्द्रबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य जमिन्द्रमान घले, गण्डकी प्रदेशसभा सांसद एवं पूर्वमन्त्री एशोदा रिमाल, प्रदेश कमिटी सदस्य लक्ष्मी अधिकारी, जिल्ला कमिटी लमजुङका अध्यक्ष राजकुमार विष्ट तथा जिल्ला कमिटी सदस्यद्वय बोबरजङ गुरुङ र वीरेन्द्र गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो। बेँसीशहर नगरपालिका कमिटी अध्यक्ष भोजबहादुर रिमालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन वडा कमिटि सचिव नीरबहादुर अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा करिब ६० जना नेता तथा कार्यकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ।









प्रतिकृया दिनुहोस