लमजुङ प्रशासनको उत्कृष्ट कर्मचारीमा नेत्रबहादुर गुरुङ
लमजुङ ।
जिल्ला प्रशासन कार्यालय लमजुङले भदौ महिनाको उत्कृष्ट कर्मचारीका रूपमा नायब सुब्बा नेत्रबहादुर गुरुङलाई छनोट गरेको छ। नागरिकता शाखामा कार्यरत गुरुङलाई कार्यालयले सोमबार उत्कृष्ट कर्मचारी घोषणा गरेको हो।
मर्स्याङ्दी गाउँपालिका–३ ढगैका गुरुङ २०७७ सालदेखि जिल्ला प्रशासन कार्यालयमा कार्यरत छन्। उनले कार्यालयका विभिन्न शाखामा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । हाल नागरिकता शाखामा रहेर सेवा प्रवाह तथा प्रशासनिक काममा जिम्मेवारी निर्वाह गर्दै आउनुभएका गुरुङलाई कार्यसम्पादन, जिम्मेवारीप्रतिको लगनशीलता, अनुशासन र सेवामा पुर्याएको योगदानका आधारमा छनोट गरिएको कार्यालयले जनाएको छ।
उत्कृष्ट कर्मचारी घोषित गुरुङलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले सोमबार प्रशंसापत्र प्रदान गर्नुभयो। प्रशंसापत्र प्रदान गर्दै खनालले कर्मचारीको मेहनत र जिम्मेवारीप्रतिको प्रतिबद्धताको मूल्यांकनले कार्यालयमा सकारात्मक कार्यसंस्कृति विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।
कर्मचारीलाई कामप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसबाट कर्मचारीलाई आफ्नो जिम्मेवारी थप प्रभावकारी रूपमा निर्वाह गर्न प्रेरणा मिल्ने कार्यालयको विश्वास छ। प्रशंसापत्र प्रदान कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेललगायत कर्मचारीको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन दिननाथ अधिकारीले गर्नुभएको थियो ।








प्रतिकृया दिनुहोस