आज : Friday, October 02, 2026 | २०८३ असोज १६ शुक्रबार

लमजुङको स्याङ्गेमा जिप दुर्घटना: चार जना घाइते, एकको अवस्था गम्भीर

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, स्याङ्गेमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बेंसीसहरबाट स्याङ्गेतर्फ जाँदै गरेको ग १ ज ७९२६ नम्बरको बलेरो जिप बुधबार साँझ करिब ५ः५५ बजे अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो।

दुर्घटनामा जिप चालक मर्स्याङ्दी गाउँपालिका–५ का २४ वर्षीय राजु गुरुङ, ५५ वर्षीय देवी जंग गुरुङ, ४३ वर्षीय योगबहादुर गुरुङ र जिपधनी २६ वर्षीय देवन गुरुङ घाइते भएका छन्।

प्रहरीका अनुसार जिपधनी २६ वर्षीय देवन गुरुङको टाउको, हात र खुट्टामा चोट लागेको र उनको अवस्था गम्भीर रहेको छ। राजु गुरुङ र देवी जंग गुरुङको अवस्था सामान्य छ। योगबहादुर गुरुङको काँधमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।  

घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको छ।

दुर्घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट जगतबाट प्रहरी सहायक निरीक्षक अजमल हुसेन धोवीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेको देखिएको छैन। 

दुर्घटनामा परेको जिप घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस