लमजुङ कांग्रेसको मतगणना आज बिहान ८ बजेदेखि हुँदै
लमजुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लमजुङ जिल्ला नेतृत्व तथा महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतदानको मतगणना आज मंगलबार बिहान ८ बजेदेखि सुरु हुँदैछ। जिल्ला निर्वाचन समितिका अनुसार मतपेटिका सुरक्षित राखिएको स्थानमा सर्वदलीय सहमतिमा मतगणना सुरु गर्न लागिएको हो।
जिल्ला सभापति पदका लागि वर्तमान जिल्ला सभापति डा. टकराज गुरुङ समूह र वरिष्ठ नेता भेषबहादुर पौडेल समूहबीच प्रतिस्पर्धा रहेको छ। मतदान सम्पन्न भएसँगै अब मतगणनाबाट जिल्ला नेतृत्वसहित महाधिवेशन प्रतिनिधिको टुंगो लाग्नेछ।
लमजुङ कांग्रेसका निर्वाचन अधिकृत सन्तोषमणि न्यौपानेका अनुसार यसपटक जिल्ला अधिवेशनमा कुल १ हजार ८०२ मतदाता रहेका थिए। तीमध्ये १ हजार ५६६ मत खसेको छ।
मतदान सम्पन्न भएपछि निर्वाचन समितिले जिल्लाभरिका नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि तथा मतदाताको उपस्थितिमा मतपेटिका सिलबन्दी गरी सुरक्षित स्थानमा राखेको थियो।
आज बिहान ८ बजेदेखि सुरु हुने मतगणनाले लमजुङ कांग्रेसको आगामी जिल्ला नेतृत्व र केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुंगो लगाउनेछ। मतदानमा खसेको मतको संख्या र जिल्ला नेतृत्वका लागि देखिएको प्रतिस्पर्धाका कारण मतगणनालाई कांग्रेस कार्यकर्ता तथा जिल्लावासीले चासोका साथ हेरेका छन्।
निर्वाचन समितिले निर्धारित समयमै मतगणना सुरु गरी प्रक्रिया अघि बढाउने जनाएको छ।










प्रतिकृया दिनुहोस