लमजुङमा प्रजिअ खनालसहितको टोलीद्वारा वर्षाका कारण भएको क्षतिको स्थलगत अनुगमन
लमजुङ ।
लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालसहित बेँसीसहर नगरपालिकाका जनप्रतिनिधि एवं सुरक्षा निकायका प्रमुखको टोलीले वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा भएको क्षतिको स्थलगत अनुगमन गरेको छ। गत शुक्रबारदेखि आईतबार गतेसम्म परेको भारी वर्षाका कारण भएको क्षतिको आज सोमबार अनुगमन गरिएको हो ।
अनुगमनमा प्रमुख जिल्ला अधिकारी खनालसहित बेँसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, उपप्रमुख पदमा गुरुङ, प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेत, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकाल, वडा नं. ११ का अध्यक्ष शिव जोशी र पूर्वाधार विकास कार्यालयका प्रतिनिधि नरेश जोशी सहभागी हुनुहुन्थ्यो।
बेँसीशहर नगरपालिका–१ र दोर्दी गाउँपालिका जोड्ने पुलको उदिपुरतर्फ जमिन भासिएको क्षेत्रको निरीक्षण गरिएको हो। जमिन भासिएपछि पुलमा ठूला सवारीसाधनको आवागमन रोकिएको छ। प्रमुख जिल्ला अधिकारी खनालले पुलको क्षतिग्रस्त भाग तत्काल मर्मत गर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिनुभएको छ। कार्यालयले मर्मतको प्रक्रिया मंगलबारदेखि अघि बढाउने जनाएको छ। त्यस्तै, असोज १० गते लेदोसहितको पहिरोले बेँसीशहर नगरपालिका–११, चितीमा प्रकाश सेढाई र विकास सेढाईको संयुक्त नाममा रहेको घर तथा रमेश डौलियाको घरमा पुर्याएको क्षतिको विवरणसमेत संकलन गरिएको छ।
यसैगरी, असोज १० गते साँझको भारी वर्षाका कारण मर्स्याङ्दी गाउँपालिकाको कार्यालयदेखि ङादी जोड्ने सडकमा मर्स्याङ्दी नदीले पुर्याएको क्षतिको पनि स्थलगत निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारीको सचिवालयका खरिदार दिननाथ अधिकारीले जानकारी दिनुभयो।







प्रतिकृया दिनुहोस