आज : Thursday, October 01, 2026 | २०८३ असोज १५ बिहीबार

जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा लमजुङका खर्वा तामाङ पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा लमजुङ दोर्दी गाउँपालिका–८ का ४५ वर्षीय खर्वा तामाङ पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार आकर्षक तलबको प्रलोभन देखाउँदै जापान पठाइदिने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाएको र पछि सम्पर्कविहीन भएको भन्दै पीडितले जाहेरी दिएका थिए।

जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा तामाङलाई काठमाडौँ महानगरपालिका–१६ सिनामंगलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार तामाङबाट एक जना पीडित भएका छन्। उनले वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै पीडितबाट ९ लाख रुपैयाँ लिएको खुलेको छ।

तामाङको स्थायी ठेगाना लमजुङको दोर्दी गाउँपालिका–८ रहेको छ भने उनी हाल काठमाडौँ महानगरपालिका–२६ मा बस्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीले तामाङलाई २०८३ असोज १० गते सिनामंगलबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस