आज : Tuesday, September 29, 2026 | २०८३ असोज १३ मंगलबार

लमजुङमा किशोरीलाई एचपीभी खोप अभियान सञ्चालन हुँदै 

लमजुङ । लमजुङ जिल्लामा किशोरीलाई लक्षित गर्दै नियमित एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको सूचनाअनुसार जिल्लाका विभिन्न स्थानीय तहमा खोप अभियान सञ्चालन गरिने भएको हो।

अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई एचपीभी खोप लगाइनेछ। खोप सम्बन्धित स्थानीय तहका विद्यालय तथा नजिकका स्वास्थ्य संस्थामा सञ्चालन हुने जनाइएको छ।

सूचनाअनुसार बेँसीशहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिकामा असोज १४, १५ र १६ गते खोप सञ्चालन हुनेछ। यस्तै, राइनास नगरपालिकामा असोज १५ र १६ गते, दूधपोखरी गाउँपालिकामा असोज १५ देखि १६ गतेसम्म, मर्स्याङ्दी र दोर्दी गाउँपालिकामा असोज १४ र १५ गते तथा क्व्होलासोथार गाउँपालिकामा असोज १५ र १६ गते खोप सञ्चालन गरिनेछ।

खोप सेवा सम्बन्धी थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी तथा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ।

जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय, लमजुङले लक्षित समूहका किशोरीलाई तोकिएको स्थान र मितिमा खोप सेवा लिन अनुरोध गरेको छ।  

प्रतिकृया दिनुहोस