मौसम प्रतिकूल बनेपछि २४६ विदेशी पर्यटक मनाङबाट लमजुङ फर्किए: एक्याप
लमजुङ ।
लगातारको वर्षा तथा प्रतिकूल मौसमका कारण असोज ६ गतेदेखि १२ गतेसम्म २४६ जना विदेशी पर्यटक मनाङबाट लमजुङ फर्किएका छन्। अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै ५ हजार ४१६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ तथा पोखरातर्फ जाने लक्ष्यसहित मनाङ पुगेका पर्यटक मौसम बिग्रिएपछि बीचबाटै यात्रा छोट्याएर फर्किएका हुन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धारापानीका अनुसार फर्किने पर्यटकमध्ये १५१ जना पुरुष र ९५ जना महिला रहेका छन्। धारापानी चेकपोस्टका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार केही दिनअघिसम्म सो क्षेत्र हुँदै दैनिक १०० देखि १५० जनासम्म पर्यटक मनाङतर्फ जाने गरेका थिए। तर, लगातार वर्षा र मौसम प्रतिकूल बनेपछि मनाङतर्फ जाने पर्यटकको संख्या निकै घटेको छ।
अन्नपूर्ण चक्रीय पदमार्गमा वर्षायाम सकिएसँगै विदेशी पर्यटकको आवागमन बढ्ने गरेको भए पनि यसपटक मौसम प्रतिकूल हुँदा पदयात्रा प्रभावित भएको हो। विशेषगरी थोराङ्ला भञ्ज्याङतर्फको यात्रा जोखिमपूर्ण हुन सक्ने भन्दै पर्यटकहरू मनाङबाटै फर्किएका हुन् ।
लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण विश्वभरका पर्यटकमाझ लोकप्रिय छ। लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्कीलाई जोड्ने यो पदमार्गको प्रमुख आकर्षणमध्ये थोराङ्ला भञ्ज्याङ पनि एक हो। मौसम अनुकुल बन्दै गएकाले पर्यटकहरु पुनः बढ्ने अपेक्षा गरिएको छ ।











प्रतिकृया दिनुहोस