आज : Tuesday, September 29, 2026 | २०८३ असोज १३ मंगलबार

मर्स्याङ्दीका सामुदायिक विद्यालयमा राजनीतिक गतिविधि नगर्न गाउँपालिकाको निर्देशन

लमजुङ । 
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले राजनीतिक दलको सभा, सम्मेलन, बैठक, प्रचारप्रसार तथा दलगत गतिविधिमा सहभागी भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

गाउँपालिकालेका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, शिक्षा ऐन तथा शिक्षा नियमावलीमा शिक्षक तथा सार्वजनिक पदमा रहेका कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न हुन रोक लगाइएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिलाई राजनीतिक दलको सदस्य बन्न नपाउने व्यवस्था रहेको पनि पत्रमा उल्लेख छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलद्वारा जारी सूचनामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलगत राजनीतिक गतिविधिबाट अलग रही पदीय मर्यादा, जिम्मेवारी र आचरण पालना गर्न आग्रह गरीएको छ। साथै, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई समेत आफ्ना विद्यालयमा उक्त व्यवस्था कार्यान्वयन गराउन निर्देशन दिईएको छ।

निर्देशन उल्लंघन भएको पाइएमा प्रचलित कानुनअनुसार विभागीय कारबाहीको प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ। 

प्रतिकृया दिनुहोस