आज कुशे आँसी तथा बुवाको मुख हेर्ने दिन
काठमांडौ ।
वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन्। भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घरमा राख्ने परम्परा छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानको घरमा पुर्याइएको कुश राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन्। धार्मिक मान्यताअनुसार ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेका थिए। सनातन संस्कारमा कुशलाई पवित्र वनस्पतिका रूपमा प्रयोग गर्ने परम्परा छ। धार्मिक अनुष्ठान, श्राद्ध, तर्पणलगायतका कर्ममा कुश प्रयोग गरिन्छ। कुशबाट बनेको औँठी अर्थात् पवित्री धारण गर्ने प्रचलनसमेत रहेको छ।
कुशे औँसीलाई बुवाको मुख हेर्ने दिनका रूपमा समेत मनाइन्छ। यस दिन छोराछोरीले आफ्ना बुवालाई मिठाइ, फलफूल, भोजन तथा कपडा उपहार दिएर सम्मान गर्ने गर्छन्। टाढा वा विदेशमा रहेका छोराछोरीले फोन तथा अन्य माध्यमबाट बुवासँग कुराकानी गरी सम्मान प्रकट गर्ने गर्छन्। भौतिक रूपमा बुवा नरहेकाहरूले भने विभिन्न धार्मिक तथा पवित्र तीर्थस्थलमा पुगेर दिवङ्गत बुवाको नाममा श्राद्ध, तर्पण, पिण्डदान तथा सिदादान गर्ने परम्परा छ। काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको वराहक्षेत्रलगायतका तीर्थस्थलमा पितृको सम्झनामा धार्मिक अनुष्ठान गर्ने गरिन्छ।
विशेषगरी काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्ने गर्छ। दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने भक्तजनको यहाँ घुइँचो लाग्ने गर्छ। गोकर्णेश्वरलाई उत्तरगयाका रूपमा समेत चिनिने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ।












प्रतिकृया दिनुहोस