धनेश्वर आमा समुहद्वारा रसुवा बाढी पिडितका लागि २० हजार सहयोग
लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं.३ खुदी स्थित धनेश्वर आमा समुहले रसुवाको भोटेकोशी नदिमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरुको राहत, उद्दार तथा पुनस्थापनाका लागि आर्थिक सहयोग गरेको छ । शुक्रबार बेँसीशहर स्थित ग्लोबल आईएमई बैँकमार्फत समुहले नगद रु २० हजार प्रधानमन्त्री दैवी प्रकोप, उद्दार तथा राहत कोषमा जम्मा गरेको हो ।
समुहकी अध्यक्ष कुमारी बोहोराले हरितालिका तीजको अवसरमा हुने खर्च कटाएर समुहले बाढी पिडितका लागि सहयोग गरेको जानकारी दिनुभयो । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले समितिले उक्त रकम सहयोग गरिएको उहाँको भनाई छ ।
धनेश्वर आमा समुहले विगतदेखि नै सामाजिक सेवाका कामहरु गर्दै आएको समुहका पुर्व अध्यक्ष राधादेवी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार समुहले यसअघि पनि खुदीस्थित मन्दिर निर्माणमा आर्थिक सहयोग गरेको थियो । साथै आफ्नो टोलको बाटोघाटो, धारा लगायत सार्वजनिक स्थलहरुको सरसफाई गर्ने कार्य गर्दै आएको छ ।








प्रतिकृया दिनुहोस