राइनास–५ तीनपिप्ले बिरौटामा सरसफाइ अभियान संचालन, युवा, बालबालिकादेखि वृद्धवृद्धासम्मको सहभागिता
लमजुङ ।
लमजुङको राइनास नगरपालिका–५, तीनपिप्ले बिरौटामा स्थानीय टोल विकास संस्था र आमा समूहको आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। देउराली विरौटा टोल विकास संस्था र प्रगतिशील आमा समूहको संयुक्त आयोजनामा आज शनिबार सरसफाइ अभियान सञ्चालन गरिएको हो।
समुदायलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीयवासीसँगै बालबालिका, युवा तथा ज्येष्ठ नागरिकहरूको समेत उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। सरसफाइका क्रममा टोल तथा बाटोछेउछाउमा लामो समयदेखि फालिएका प्लास्टिक, सिसा लगायतका विभिन्न प्रकारका फोहोर संकलन गरी उचित व्यवस्थापन गरिएको थियो। त्यसैगरी, यसअघि सार्वजनिक तथा सडक आसपासका क्षेत्रमा रोपिएका बिरुवाको संरक्षणका लागि बारबेर तथा संरक्षणको कामसमेत गरिएको छ।सरसफाइ अभियानले टोलको वातावरण सफा हुनुका साथै सार्वजनिक स्थानमा फोहोर नफाल्ने र वातावरण संरक्षणप्रति स्थानीय बासिन्दामा सचेतना बढाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन्।
विशेषगरी बालबालिका र युवाहरूको सहभागिताले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिन थप प्रेरणा मिलेको आयोजकको भनाइ छ। देउराली विरौटा टोल विकास संस्थाका अध्यक्ष रामशाली लामा नेपालीले टोल विकास संस्थाले हरेक हप्ताको शनिबार नियमित रूपमा सरसफाइ तथा सामाजिक काम गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार टोलको वातावरण स्वच्छ राख्नु सबै स्थानीयवासीको साझा जिम्मेवारी भएकाले समुदायका सबै वर्गलाई अभियानमा जोड्दै लगिएको छ। त्यस्तै, प्रगतिशील आमा समूहकी अध्यक्ष मिरा नेपालीले सरसफाइलाई केवल विशेष अवसरमा मात्रै सीमित नगरी नियमित बानीका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उहाँले आफूहरूले कम्तीमा पनि हप्ताको एक दिन सरसफाइका लागि समय छुट्याउँदै आएको जानकारी दिनुभयो।
स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालन भएको उक्त अभियानले टोलको सरसफाइसँगै सामूहिक भावना, सामाजिक एकता र वातावरण संरक्षणको सन्देशसमेत प्रवाह गरेको आयोजकहरूको भनाइ छ। आगामी दिनमा पनि सरसफाइ तथा वृक्ष संरक्षणका गतिविधिलाई निरन्तरता दिने बताइएको छ।





प्रतिकृया दिनुहोस