आज : Friday, September 11, 2026 | २०८३ भदौ २६ शुक्रबार

राइनासका सामुदायिक विद्यालयहरूमा ‘उज्यालो शैक्षिक अभियान’ सुरु: विद्यार्थीहरूका लागि ‘उज्यालोका पाइलाहरु’ पुस्तक सहयोग गर्न मनबहादुर गुरुङको अपिल

लमजुङ। 
लमजुङको राइनास नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूको शैक्षिक विकास र पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले ‘उज्यालो शैक्षिक अभियान’को थालनी गरिएको छ। आशिमाला फिल्म प्रा.लि.को विशेष पहल तथा पूर्वशिक्षक एवं लेखक मनबहादुर गुरुङको नेतृत्वमा यो अभियान अगाडि बढाइएको हो।

लामो समय शिक्षण पेसामा बिताउनुभएका लेखक गुरुङले कक्षाकोठामा बालबालिकाको आँखामा देखिने उत्सुकता, नयाँ कुरा सिक्ने चाहना र उज्ज्वल भविष्यको सपनालाई नजिकबाट नियाल्नुभएको थियो। तिनै शिक्षण यात्राका अनुभव, जीवनका भोगाइ, व्यक्तिगत सिर्जना र विद्यार्थीहरूप्रतिको अगाध मायालाई समेटेर उहाँले ‘उज्यालोका पाइलाहरु’ नामक पुस्तक तयार पार्नुभएको हो।

राइनाससँग आफ्नो पुरानो र भावनात्मक शिक्षण सम्बन्ध रहेको उल्लेख गर्दै लेखक गुरुङले यो अभियानको पहिलो पाइला राइनासबाटै चाल्न पाउँदा विशेष खुसी व्यक्त गर्नुभएको छ। उहाँका अनुसार राइनास नगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रत्येक विद्यार्थीको हात-हातमा यो पुस्तक पुर्‍याउने अभियानको मुख्य लक्ष्य रहेको छ।

"यो केवल एउटा पुस्तक वितरण गर्ने सामान्य कार्यक्रम मात्र होइन, यसले बालबालिकालाई अध्ययन गर्ने, नयाँ ढङ्गले सोच्ने र आफ्नो भविष्यप्रति सकारात्मक बन्न प्रेरित गर्नेछ," अभियानबारे स्पष्ट पार्दै लेखक गुरुङले भन्नुभयो, "आज हामीले एउटा विद्यार्थीको हातमा पुस्तक पुर्‍याउन सक्यौँ भने, भोलि तिनै बालबालिकाले ज्ञान, सिर्जना र सकारात्मक सोचका माध्यमबाट सिङ्गो समाजमा उज्यालो थप्न सक्नेछन्।"

यस अभियानलाई सफल बनाउन देश-विदेशमा रहनुभएका सम्पूर्ण राइनासवासी आमा-बुबा, दाजुभाइ, दिदीबहिनी, पूर्वविद्यार्थी, शिक्षक, समाजसेवी तथा व्यवसायीहरूलाई हार्दिक आह्वान गरिएको छ। "मेरो लागि होइन, हाम्रा बालबालिकाका लागि" र "मेरो गाउँको एउटा विद्यालय उज्यालो बनाउँछु" भन्ने पवित्र भावनाका साथ यो सामाजिक अभियानमा जोडिन सबैमा अपिल गरिएको छ।

अभियानअन्तर्गत इच्छुक सहयोगीहरूले आफ्नो इच्छा र क्षमताअनुसार १, ५, १०, २० जना विद्यार्थी वा सिङ्गो विद्यालयका सबै बालबालिकाका लागि पुस्तक सहयोग गर्न सक्नेछन्। सहयोग सानो वा ठूलो जस्तोसुकै भए पनि त्यसले बालमनमा ठूलो प्रभाव पार्ने अभियानकर्ताहरूको विश्वास छ।

अभियानलाई पूर्ण रूपमा पारदर्शी बनाउनका लागि प्राप्त सहयोग रकम र पुस्तक वितरणको विवरणलाई व्यवस्थित रूपमा अभिलेख राखिनेछ। कुन विद्यालयका कति विद्यार्थीले पुस्तक प्राप्त गरे भन्ने विवरण सार्वजनिक रूपमा सुरक्षित राखिने आयोजकले जनाएको छ। "एउटा पुस्तक — एउटा बालमन, एउटा बालमन — एउटा नयाँ सम्भावना" भन्ने मूल नाराका साथ सुरु भएको यस अभियानले राइनासको शैक्षिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस