आज : Sunday, September 06, 2026 | २०८३ भदौ २१ आइतबार

दर कार्यक्रम रद्द गरेर जनज्योती महिला समूहद्वारा राहत सहयोग

लमजुङ ।
लमजुङको राइनास नगरपालिका–१, साहिलीटारस्थित जनज्योती महिला समूहले तीजको दर खाने कार्यक्रम रद्द गरेर प्राकृतिक विपत्तिमा परेका पीडित परिवारका लागि राहत सहयोग गरेको छ।

समूहले तीजका अवसरमा दर खाने कार्यक्रमका लागि छुट्याएको रकमलाई मानवीय सेवामा लगाउँदै भदौ १८ गते ३१ हजार रुपैयाँ राहतस्वरूप सहयोग गरेको हो। प्राकृतिक विपत्तिका कारण विभिन्न परिवार समस्यामा परिरहेको अवस्थामा उनीहरूको पीडामा साथ दिन र केही भए पनि राहत पु¥याउने उद्देश्यले सहयोग गरिएको समूहले जनाएको छ।

समूहकी अध्यक्ष भगवती अधिकारीका अनुसार पछिल्लो समय विपत्तिका कारण नागरिकले दुःख र कठिनाइ भोगिरहेका बेला तीजको दर खाने कार्यक्रमलाई प्राथमिकता दिनुभन्दा पीडित परिवारलाई सहयोग गर्नु उचित ठानेर कार्यक्रम रद्द गरिएको हो।

उहाँले भन्नुभयो, तीज पर्वका अवसरमा गरिने मनोरञ्जनात्मक कार्यक्रमलाई केही समयका लागि रोक्दै त्यसका लागि छुट्याइएको रकम विपत्तिमा परेका नागरिकको सहयोगमा प्रयोग गरिएको हो। यसबाट पीडित परिवारलाई प्रत्यक्ष रूपमा केही राहत मिल्ने अपेक्षा समूहले गरेको छ।

जनज्योती महिला समूहले प्राकृतिक विपत्तिको कठिन घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको जनाएको छ। विपत्तिमा परेका नागरिकको पीडामा आफूहरूले सकेको सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ मानवीय सेवाको भावनाले राहत रकम उपलब्ध गराइएको समूहको भनाइ छ।

समूहले तीजलगायतका पर्वमा हुने खर्चलाई सामाजिक तथा मानवीय सेवामा जोड्न सके विपत्तिमा परेका परिवारलाई तत्काल सहयोग पुग्नुका साथै समाजमा आपसी सहयोग र सद्भावको भावना पनि बलियो हुने बताएको छ।

जनज्योती महिला समूहको यो निर्णयले पर्व मनाउने खर्चलाई मानवीय सेवामा उपयोग गर्दै सामाजिक उत्तरदायित्व पूरा गर्ने उदाहरण प्रस्तुत गरेको छ। समूहले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।  

प्रतिकृया दिनुहोस