कुसे औँसीमा सर्वोदय सेवाश्रमलाई ६८ हजारभन्दा बढी नगदसहित खाद्यान्न सहयोग
लमजुङ ।
कुसे औँसी तथा पितृऔँसीको अवसरमा सर्वोदय सेवाश्रम तथा धर्मनाथ धाममा विभिन्न व्यक्ति, परिवार तथा संस्थाबाट नगद र खाद्यान्न सहयोग प्राप्त भएको छ। आज (शुक्रबार) आश्रममा आयोजित कार्यक्रममा राइनास नगरपालिका–१ भङ्गारी निवासी सुकबहादुर धनकौलीले रु.१० हजार १००, सुन्दरबजार नगरपालिका–९ भोटेओडार निवासी सबिना ठकुरीले ११ हजार ५५५ तथा भानु नगरपालिका–३ खहरे निवासी कुलबहादुर बानियाँको परिवारले १२ हजार ५०० सहयोग गरेका छन्। यस्तै आईएमई इन्स्योरेन्स सुन्दरबजार शाखाले खाद्यान्नलगायत नगद सहयोग गरेको छ।
कुसे औँसीको अवसरमा दिनभर ४५ वटा समूह, परिवार तथा व्यक्तिगत रूपमा आएका पितृभक्त श्रद्धालुले आश्रममा रहेका ज्येष्ठ नागरिक बाबा–आमाका लागि नगद तथा खाद्यान्न दान गरेका थिए। उनीहरूले धर्मनाथ धामको दर्शन गर्नुका साथै सर्वोदय सेवाश्रमको अवलोकनसमेत गरेका थिए।
आश्रमका अनुसार शुक्रबार रसिदमार्फत ६८ हजार ८ सय ४० नगद सहयोग प्राप्त भएको छ। चामल ३०० केजि ,दाल, तेल ,आलु, चिनि, चिया, मसला, जुस, बिष्कुट,फलफुल जिन्सी सहयोग प्राप्त भएको संस्थाका अध्यक्ष कृष्णराज ओलीयाले जानकारी दिनुभयो ।
राइनास, भानु, पालुङटार र सुन्दरबजारलगायतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरू आश्रममा आई दान तथा अवलोकन गरेको प्रचार–प्रसार संयोजक लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनुभयो।
आश्रमलाई सहयोग गर्ने सम्पूर्ण दाता, श्रद्धालु तथा शुभेच्छुकप्रति संस्थाका अध्यक्ष ओलीयाले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ। उहाँले आश्रममा रहेका ज्येष्ठ नागरिकको सेवाका लागि प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउनुभयो।








प्रतिकृया दिनुहोस