आगामी कार्तिक २८ गतेदेखि मर्स्याङ्दीका सबै वडामा निःशुल्क स्त्री रोग स्वास्थ्य शिविर सञ्चालन हुने
लमजुङ । मर्स्याङ्दी गाउँपालिकाका महिलाहरूलाई लक्षित गरी निःशुल्क स्त्री रोगसम्बन्धी स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार शिविर सञ्चालन हुने भएको छ। महिलाका लागि महिला संस्था, नेदरल्यान्ड्स (Women for Women Foundation, Netherlands) र स्वदेशी नेपाल (SoDeSI Nepal) को प्रायोजन तथा मर्स्याङ्दी गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गर्न लागिएको हो।
शिविर आगामी कार्तिक २८ गतेदेखि मंसिर ३ गतेसम्म गाउँपालिकाअन्तर्गतका सबै वडामा सञ्चालन हुनेछ। शिविरमा वरिष्ठ स्त्री रोग विशेषज्ञ महिला चिकित्सकबाट महिलाहरूको स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक उपचार सेवा निःशुल्क रूपमा प्रदान गरिने जनाइएको छ। शिविर सञ्चालन तथा व्यवस्थापनका विषयमा मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, स्वदेशी नेपाल (SoDeSI Nepal) का कार्यक्रम संयोजक भेषबहादुर खड्का तथा महिलाका लागि महिला संस्था, नेदरल्यान्ड्सका नेपाल प्रतिनिधि विश्वनाथ पौड्यालबीच आवश्यक छलफल तथा बैठकसमेत सम्पन्न भएको छ।
विशेषगरी स्त्री रोगसम्बन्धी समस्या, पाठेघर तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या भएका महिलाहरूका लागि शिविर महत्वपूर्ण अवसर हुने गाउँपालिकाले जनाएको छ। सबै वडामा शिविर सञ्चालन हुने मिति, समय र स्थानको विस्तृत विवरण पछिल्लो सूचनामार्फत सार्वजनिक गरिनेछ। गाउँपालिकाले सम्पूर्ण महिला दिदीबहिनीहरूलाई सूचना प्राप्त भएपछि आफूलाई पायक पर्ने शिविर स्थलमा उपस्थित भई स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा उपचार सेवा लिन अनुरोध गरेको छ। ‘स्वस्थ महिला, स्वस्थ परिवार र समृद्ध मर्स्याङ्दी’ निर्माणमा गाउँपालिकाले प्रतिबद्धता जनाएको छ।






प्रतिकृया दिनुहोस