आज : Thursday, August 20, 2026 | २०८३ भदौ ४ बिहीबार

“हामी कृषिलाइ सम्मानित र मर्यादित पेसा बनाउन चाहिरहेका छौँ”-मन्त्री कार्की

लमजुङ ।
गण्डकी प्रदेशका कृषि भुमी व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले प्रदेश सरकारले कृषि पेशालाइ सम्मानित र मर्यादित पेसा बनाउन चाहिरहेको बताउनुभएको छ । मंगलबार लमजुङको सदरमुकाम बेँशीसहरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको  आव २०८३/८४ को बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कृषि पेशालाई सम्मानित र मर्यादित बनाउनका लागि गण्डकी प्रदेश सरकारले पनि सोही अनुसार कार्यक्रमहरु ल्याएको मन्त्री कार्कीको भनाई छ ।  

कृषि सम्बन्धी कार्यक्रमहरुमा डुब्लिकेसन हटाउन कुन क्षेत्रमा कुन सरकारले काम गर्ने भन्नेबारे छलफल भैरहेको बताउनुभयो । अनुदानले मात्रै कृषकलाइ टिकाउन नसकिने बताउदै उहाँले कृषि लक्षित दिगो योजनाहरु बनाउन तीनै तहको सरकारले पहल गरिरहेको बताउनुभयो । गण्डकी प्रदेशले यसपटक कृषि र कृषकलाई प्रोत्साहन गर्नका लागि १० वटा पालिकामा कृषि एम्बुलेन्समा अनुदान दिने, कृषि एप्स निर्माण गर्न बजेट छुट्याइएको तथा कृषिमा पुस्तान्तरण गर्नका लागी “रिटर्न टु भिजेज” कार्यक्रममार्फत युवालाई गाउँमै फर्काएर कृषिकर्ममा लाग्न प्रोत्साहन गर्ने कार्यक्रम अघि सारेको बताउनुभयो ।    

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका कार्यालय प्रमुख डा. बिकल चन्द्र श्रेष्ठले आ/व २०८३/८४ का कार्यक्रमहरु सार्बजनिक गर्नुभएको थियो । श्रेष्ठले कार्यालयमा यस वर्ष ४ करोड ६३ लाख  बजेट प्राप्त भएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार यसवर्ष ८ वटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम संचालन गरिने छ । कुकुर बन्ध्याकरण, मत्स्य उपचार शिविर, अफ्रिकन स्वाईन फिभर रोग रोकथामका लागी जनचेतना अभिवृद्धि कार्यक्रम संचालन, पशु स्वास्थ्य प्रवद्र्धन तथा रोग नियन्त्रणसँगै कृषि र पशुपालनतर्फ थुप्रै अनुदानका कार्यक्रमहरु अघि सारेको जनाईएको छ । 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ लमजुङ÷मनाङ प्रमुख पद्मनाथ आत्रेयले कार्यक्रम कार्यान्वयनको संगठनात्मक संरचना बारे जानकारी गराउनुभएको थियो । उहाँका अनुसार लमजुङ र मनाङ जिल्लामा अलैंची, मौरी, स्याउ, आलू, ओखर, तरकारी, सुन्तलाजन्य फलफुल र धान खेतीलाई मुख्य वालीका रुपमा राखिएको छ । 


कृषि बिकास कार्यालय लमजुङका कार्यालय प्रमुख किरण सिग्देलले लमजुङ र मनाङ सम्भावनाले भरिपुर्ण जिल्ला भएपनि सडक पहुँच सहज नभएकाले यहाँको उत्पादनले बजार पाउन नसेको बताउनुभयो । लमजुङ जिल्ला खाद्यान्न, तरकारी र आलुमा आत्मनिर्भर रहेको उहाँको भनाई छ ।
 
कार्यक्रमकै अवसरमा कृषकहरुसँग छलफल तथा अन्तरक्रिया समेत भएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न पालिकाबाट आएका कृषक एवं कृषिमा आबद्ध व्यक्तिहरु कृष्णप्रसाद अधिकारी, नारायण प्रसाद अधिकारी, जीवन अधिकारी, दुर्गा बहादुर गुरुङ, प्रताप पौडेल, रविन्द्र अधिकारी, धन बहादुर गुरुङ, दिनेश गुरुङ, जनकराज भट्ट, टिकाराम पौडेल लगायतले प्रश्न, जिज्ञासा तथा सुझावहरु राख्नुभएको थियो ।  

छलफलमा कृषकहरुले कृषि तथा पशु बिमा कार्यक्रममार्फत कृषकलाई प्रोत्साहन गर्नुपर्ने, कृषकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि पहल गर्नुपर्ने, मलखाद व्यवस्थानको लागि कार्यक्रम ल्याउनुपर्ने, फलफूल बगैंचा स्थापना भएपनी त्यसको संरक्षणका लागि तारबार गर्नुपर्ने र त्यसमा अनुदान दिनुपर्ने, रासायनिक मल प्रयोग गर्ने तरिकाबारे अभिमुखिकरण कार्यक्रम राख्नुपर्ने लगायतका माग राखेका थिए ।

त्यस्तै परिमाणभन्दा परिणाममा ध्यान दिएर अनुदान दिईनुपर्ने, बाँदरजस्ता जँगली जनावरहरुबाट हुने क्षति कम गर्न ठोस कदम चाल्नुपर्ने,  बिपन्न बर्गका लागि प्रोत्साहन गर्ने खालका कृषि कार्यक्रमहरु ल्याउनुपर्ने, भेडाबाख्रामा पनि कृतिम गर्भाधान गर्ने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका थिए । घुम्ती गोठ संरक्षण क्षेत्र प्रभाबकारी बन्न नसकेको भन्दै त्यसलाई हटाएर लेकको गोठमा रासन पानी ढुवानीका लागि ड्रोन जस्ता आधुनिक प्रबिधिको प्रयोग गर्नुपर्ने, हरेक कृषकले गाइबस्तु बाख्राजस्ता पशुपालन गर्नुपर्ने जसले मलका लागि परनिर्भर बनिराख्नु नपर्ने लगायतका सुझावहरु समेत राखेका थिए ।

छलफलमा उठेका प्रश्न तथा जिज्ञासाहरुको सम्बोधन भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका प्रमुख डा. विकल चन्द्र श्रेष्ठ, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ लमजुङ÷मनाङ प्रमुख पद्मनाथ आत्रेय, कृषि बिकास कार्यालय लमजुङका कार्यालय प्रमुख किरण सिग्देल, गण्डकी प्रदेश कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बालकृष्ण अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्ण बहादुर गुरुङ, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण केसी लगायतले बोल्नुभएको थियो । गण्डकी प्रदेश कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सरोज थापाले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस