लमजुङ मध्यनेपाल–२, स्कुलटारमा करेन्ट लागेर एक जनाको मृत्यु
लमजुङ ।
लमजुङको मध्यनेपाल नगरपालिका–२, स्कुलटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज बिहिबार अपराह्न करिब ३ बजे भएको उक्त घटनामा तनहुँ जिल्लाको व्यास नगरपालिका–८ निवासी ४४ वर्षीय उपेन्द्र सोतीको ज्यान गएको हो ।
प्रहरीका अनुसार उपेन्द्र सोती लमजुङको मध्यनेपाल नगरपालिका–२ स्थित पूर्णकान्त सोतीको घरमा छतमा रेलिङ निर्माणका लागि प्रयोग हुने फलामको पाइप तान्ने कार्यमा संलग्न रहेका थिए। सोही क्रममा उनले तानेको पाइप नजिकै रहेको बिजुलीको नाङ्गो तारमा अचानक छोएपछि उच्च भोल्टेजको करेन्ट प्रवाह भई उनी गम्भीर घाइते भएका थिए। घटनास्थलमा रहेका स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि स्थानीय दुईपिप्ले अस्पताल, लमजुङ पु¥याएका थिए । अस्पतालमा पु¥याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि प्रहरीले घटनास्थलको मुचुल्का गर्नुका साथै आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका अनुसार रेलिङको पाइप तान्ने क्रममा नजिकै रहेको विद्युत् प्रसारण लाइनको नाङ्गो तारमा पाइप छोएपछि करेन्ट प्रवाह भएको देखिएको छ। घटनाको विस्तृत कारण खुलाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । यस घटनापछि स्थानीयवासीले विद्युत् लाइन नजिक निर्माण तथा मर्मतसम्बन्धी कार्य गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् । यस्तै, सम्बन्धित निकायले पनि विद्युत् लाइनको नियमित निरीक्षण तथा जोखिमयुक्त स्थानमा सुरक्षाका उपाय प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ। मृतक उपेन्द्र सोतीको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।









प्रतिकृया दिनुहोस