आज : Tuesday, August 11, 2026 | २०८३ श्रावण २६ मंगलबार

गुरुङ समुदायले आज सांस्कृतिक पर्व ट्होंटे मनाउँदै   

लमजुङ।

साउन महिनाको अन्तिम मंगलबार, आज गुरुङ समुदायले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदैछन् । गण्डकी प्रदेश भित्रका गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार सांस्कृतिक पर्व ट्होटें मनाउने गर्दछन् । 

गुरुङ भाषामा ट्हो को अर्थ राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ । तमु समुदायले परापूर्व कालदेखि समाजमा रहेको भूत प्रेतलाई धपाई ट्हो अर्थात राज्यको सुरक्षा गर्ने पर्वका रुपमा हरेक वर्ष साउन र चैत महिनाको अन्तिम मंलवार ट्होटें मनाउदै आएको छ । 

ट्होटें पर्व लमजुङसहित कास्की, पर्वत, तनहुँ, स्याङ्जालगायतका गण्डक क्षेत्रका गुरुङ समुदायले मनाउने गर्दछन् । ट्होटे पर्वमा गुरुङ समुदायका मानिसहरूले विभिन्न हातहतियार, वाजाहरु डम्फा, झ्याली, चोपडी , सुलाची , चिम्टा लगाएतका सामाग्रीहरू प्रदर्शन गरी झाकी निकाली धुप वालेर समाजमा रहेको भुतलाइ धपाउने गर्दछन् । 

विगतमा समाजमा रहेको भुतप्रेत भगाउन मनाईदै आएको यो पर्व विस्तारै समाजमा रहेको भ्रष्टाचार, कुरीती, विसंगती र अन्याय विरुद्ध आवाज उठाउने जनचेतनामुलक पर्वका रुपमा समेत मनाईदै आएको छ ।

ट्होंटेको अवसरमा लमजुङको क्वलासोंथर गाउँपालिका, मध्यनेपाल नगरपालिका लगायत गुरुङ समुदायको बाहुल्यता भएको पालिकाहरुमा सार्वजनिक विदा दिईएको छ ।  

प्रतिकृया दिनुहोस