आज : Monday, August 17, 2026 | २०८३ भदौ १ सोमबार

बेँशीसहर नगरपालिकाले अनुदानमा हातेट्याक्टरसहित साना कृषि औचार तथा सिल्पोलिन, मल्चिङ प्लास्टिक उपलब्ध गराउने 

लमजुङ । 
लमजुङको बेशीशहर नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदान हातेट्याक्टर, साना कृषि औजार/उपकरण, सिल्पोलिन, मल्चिङ प्लास्टिक र स्प्रेयर उपलब्ध गराउने भएको छ। नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रम कृषिमा यान्त्रीकरण मार्फत लागत न्यूनीकरणका लागि मागमा आधारित हातेट्याक्टर तथा साना कृषि औजार÷उपकरण उपलब्ध गराउन लागेको हो । 

यस्तै कृषि यान्त्रीकरण र कृषि औजार प्रवर्द्धन कार्यक्रम तर्फको बेमौसमी खेतीपाती गर्न सहजता प्रदान गर्ने उद्देश्यका साथ ५० प्रतिशत अनुदानमा सिल्पोलिन, मल्चिङ प्लास्टिक र स्प्रेयर उपलब्ध गराउन लागेको हो । 

कृषि क्षेत्रमा यान्त्रीकरणलाई प्रवर्द्धन गर्दै लागत न्यूनीकरण र कृषकलाई कृषि कर्ममा सहजता प्रदान गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको नगरपालिकाले सोमबार निकालेको सूचनामा भनिएको छ । 
 
कार्यक्रममा सहभागी हुन बेशीशहर नगरपालिका क्षेत्रभित्रका इच्छुक कृषक, कृषि फर्म, कृषक समूह तथा कृषि सहकारीले आवेदन दिन सक्नेछन्। इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र, अर्थात् यहि भदौ ३० गतेसम्म कृषि विकास शाखामा आवेदन पेश गर्नुपर्नेछ।

आवेदनसँग नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस तथा जग्गासम्बन्धी आवश्यक कागजात पेश गर्नुपर्ने जनाईएको छ। नगरपालिकाले हातेट्याक्टरका लागि २० लाख, सिल्पोलिन, मल्चिङ प्लास्टिक र स्प्रेयरका लागि दुई लाख २० हजार र साना कृषि औजारका लागि एक लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। गत आर्थिक वर्षमा अनुदान नपाएका कृषकलाई प्राथमिकता दिइने जनाइएको छ।  

प्रतिकृया दिनुहोस