अल्बिनोजम अपाङ्गता भएका व्यक्ति र सरोकारवालालाई लक्षित गरी दुई दिवसिय अभिमुखिकरण कार्यक्रम सुरु
लमजुङ ।
लमजुङको सदरमुकाम बेशीसहरमा अल्बिनोजम अपाङ्गता भएका व्यक्तिहरु र सरोकारवालाहरुलाइ समुदायमा सचेतना र कानूनी तथा मानव अधिकार सम्बन्धी दुई दिवसिय अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । शनिबारदेखि अल्बिनो समाज नेपालको आयोजना र एबिलिस फाउन्डेसनको सहयोगमा बेशीसहर नगरपालिका ८ झिङ्गेखोलास्थित लक्ष्मी नारायण पुस्तकालयको भवनमा सो कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि बेशीसहर नगरपालिकाका उपप्रमुख पदमा गुरुङले अल्बिनोजम बारे आफूहरुले पनि भर्खरै मात्र जानकारी पाएको उल्लेख गर्नुभयो । अल्बिनोजम अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक परिचयपत्र र सहायता सामाग्री उपलब्ध गराउने विषयमा बोल्दै उहाँले हालसम्म नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट स्थानीय तहहरुमा यसबारेमा कुनैपनि निर्देशन नआएको बताउँनुभयो । उहाँले अल्बिनोजम भएका व्यक्तिहरुका लागि आवश्यक परिचयपत्र तथा सहायता सामाग्री उपलब्ध गराउनेबारे नगरपालिकामा कुरा राख्ने प्रतिबद्धता जनाउनुभयो ।
अल्बिनोजम जन्मजात रुपमा शरीरका छाला र रौँहरु सामान्य मानिसको भन्दा सेतो र संवेदनशील हुने एक स्वास्थ्य समस्या हो । अल्बिनोजम भएका अधिकांश व्यक्तिको आखाको भिजन पनि कम हुने गर्दछ । नेपालमा झन्डै १७ सय जनामा अल्बिनोजम भएका व्यक्तिहरु रहेको जनाइएको छ ।
अल्बिनो समाज नेपालका अध्यक्ष पवन कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बिशेष अतिथि एकीकृत बिकास समिति लमजुङका प्रमुख मिता कुमारी थापा, बेशीसहर नगरपालिका वडा नं ८ का वडाअध्यक्ष पवित्र थापामगर, नेत्रहीन संघ तनहुँका अध्यक्ष कृष्ण अधिकारी, लमजुङ कालिका यातायात सन्चालक समितिका इन्चार्ज खुशीराम बराल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका संस्थापक अध्यक्ष नवराज पहाडी, बेशीसहर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दुर्गा गुरुङ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष पवन कुमार बस्नेतले अल्बिनोजम भएपछि आफूले भोगेको भोगाइ साझा गर्नुभएको थियो । अल्बिनोजम अपाङ्गतालाई पनि अपाङ्गताको प्रकारहरुमा समावेश गर्नुपर्ने उहाँको भनाई थियो । साथै सार्वजनिक संरचनाहरु अपाङ्गमैत्रीभन्दा पनि मानवमैत्री बनाईनुपर्ने बताउनुभयो ।
कार्यक्रमको उद्देश्य माथि प्रशिक्षक परशुराम भट्टले प्रकाश पार्नुभएको थियो । नेत्रहिन संघ लमजुङका सचिव बिष्णु पोख्रेलले संचालन गर्नुभएको कार्यक्रममा स्वागत सचिव प्रमिला बस्नेतले गर्नुभएको थियो । सचिव बस्नेतले सामान्य मानिसको भन्दा अल्बिनोजम भएका व्यक्तिहरुको छाला सेतो र सेन्सिटिभ हुने भएकाले सन्सक्रीम बढी चाहिने र सन्सक्रीमबिना घामको सम्पर्कमा आउँदा क्यान्सरको जोखिम बढी हुने बताउनुभयो । हाल नेपालमा १० प्रकारको अपाङ्गता रहेको र त्यसमा अल्बिनोजम पनि थप्नुपर्ने उहाँको भनाई छ ।
दुईदिनसम्म चल्ने कार्यक्रममा प्रशिक्षकहरु बिष्णु पोख्रेल, कृष्ण अधिकारी र परशुराम भट्टले प्रशिक्षण प्रदान गर्नुहुने छ भने लमजुङ र तनहुँबाट अल्बिनोजम भएका व्यक्तिहरु सहभागी छन् ।








प्रतिकृया दिनुहोस