उज्यालोका पाइलाहरु’ पुस्तक विमोचन, गणित शिक्षणलाई सहज र व्यवहारिक बनाउने अपेक्षा
लामो समयको अनवरत प्रयासपछि मनबहादुर गुरुङद्वारा लिखित तथा सम्पादित ‘उज्यालोका पाइलाहरु’ पुस्तक विमोचन गरिएको छ। शिक्षण अनुभव, गणित विषयप्रतिको रुचि तथा सिर्जनशील सोचलाई समेटेर तयार पारिएको पुस्तकले गणित शिक्षणलाई सहज, व्यवहारिक र रुचिकर बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
हेड्स नेपाल संस्थाका शिक्षा शाखा प्रमुख रामकृष्ण शर्माको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भवानी माध्यमिक विद्यालय, ठाँटीपोखरी, गोरखाका पूर्व प्रधानाध्यापक उमाकान्त देवकोटा र विशिष्ट अतिथि नेपाल सरकारका पूर्व उपसचिव तथा गणित विषय विज्ञ किसानराज चिलुवालले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको हो।
कार्यक्रममा शैक्षिक, सामाजिक तथा प्रशासनिक क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल सरकार अनुसन्धान विभागका पूर्व आईजीपी मोती गुरुङ, वरिष्ठ पाइलट ओम गुरुङ, पूर्व शिक्षक प्रेमप्रसाद दवाडी, अधिवक्ता कृष्ण पोखरेल, रमेश पराजुली, विष्णु विक्रम दवाडी, लेक्चरर बाबुराम विक, डा. राजु गुरुङ, सहजकुमार घले, शिक्षक सैयादिन मिया, पूर्व उपसचिव नारायण न्यौपाने, बुद्धिमान गुरुङलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन भीमकुमार गुरुङले मर्यादित तथा सुमधुर शैलीमा गर्नुभएको थियो। स्वागत मन्तव्य राख्दै सहजकुमार घलेले ‘उज्यालोका पाइलाहरु’का सर्जक मनबहादुर गुरुङलाई आगामी दिनमा अझ परिष्कृत साहित्यिक तथा सिर्जनात्मक रचनाका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँले पुस्तकले शैक्षिक क्षेत्रमा थप उचाइ हासिल गर्नुका साथै विद्यार्थी वर्गका लागि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अधिवक्ता कृष्ण पोखरेलले विद्यार्थी वर्गमा अध्ययनका लागि आवश्यक उपयोगी सामग्रीको अभाव देखिएको अवस्थामा ‘उज्यालोका पाइलाहरु’ फरक शैलीको महत्वपूर्ण शैक्षिक सामग्री बन्न सक्ने बताउनुभयो। पुस्तकलाई सकेसम्म धेरै विद्यार्थीको हातमा संस्थागत रूपमा पुर्याउनुपर्नेमा जोड दिँदै उहाँले पुस्तक वितरणका लागि आफूले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कृति समीक्षक तथा गणित विषय विज्ञ पूर्व उपसचिव किसानराज चिलुवालले पुस्तकका विभिन्न शीर्षक, परिच्छेद तथा पाठका विषयमा चर्चा गर्दै गणितजस्तो कठिन मानिने विषयमा विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘उज्यालोका पाइलाहरु’ कोशेढुङ्गा बन्न सक्ने बताउनुभयो।
गणित विषयमा धेरै विद्यार्थीलाई सिकाइमा कठिनाइ हुने तथा अनुत्तीर्ण हुने अवस्था रहेको सन्दर्भ उल्लेख गर्दै चिलुवालले पुस्तकले विद्यार्थी, शिक्षक, अभिभावक तथा गणितप्रति रुचि राख्ने बौद्धिक वर्गलाई समेत उपयोगी व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार पुस्तकमा मनोरञ्जनात्मक शैलीमा विभिन्न शीर्षकमा विभाजित संवादात्मक पाठ्य सामग्री समावेश गरिएको छ। यसले विद्यार्थीलाई गणितीय विषयवस्तु बुझ्न सहज बनाउनुका साथै दैनिक जीवनमा आवश्यक व्यावहारिक ज्ञान र सीप विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा भवानी माध्यमिक विद्यालय, ठाँटीपोखरी, गोरखाका पूर्व प्रधानाध्यापक उमाकान्त देवकोटाले कृतिका सर्जक मनबहादुर गुरुङ आफ्ना मेधावी तथा असल विद्यार्थी भएको स्मरण गर्दै उहाँभित्र रहेको सिर्जनशीलताको प्रशंसा गर्नुभयो। उहाँले गुरुङमा विद्यार्थी जीवनदेखि नै रहेको सिर्जनशीलता अहिले पुस्तक प्रकाशनमार्फत थप उजागर भएको बताउनुभयो।
देवकोटाले ‘उज्यालोका पाइलाहरु’ले शैक्षिक जगतमा नयाँ उचाइ थप्ने विश्वास व्यक्त गर्दै सर्जक गुरुङलाई आगामी दिनमा पनि समाज र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने गरी निरन्तर सिर्जनशील कार्यमा लाग्न शुभकामना दिनुभयो।
सर्जक मनबहादुर गुरुङको जीवनयात्रा शिक्षा र सिर्जनशीलतासँग जोडिएको छ। गोरखाको सिरान्चोक गाउँपालिका–२, ओख्रेनी सिम्लेमा जन्मनुभएका गुरुङ परिवारसहित २०२९ सालमा लमजुङको राइनास नगरपालिका–१, बोराङखोलामा बसाइँ सरेर आउनुभएको थियो। उहाँले प्रारम्भिक तथा माध्यमिक तहको शिक्षा राइनास–१, साहिलीटारस्थित श्री ज्ञानोदय माध्यमिक विद्यालय तथा गोरखाको पालुङ्टार नगरपालिका–५, ठाँटीपोखरीस्थित भवानी माध्यमिक विद्यालयबाट हासिल गर्नुभएको हो।
गणित विषयमा उच्च शिक्षा हासिल गर्नुभएका गुरुङले विभिन्न सरकारी तथा निजी विद्यालयमा लामो समयसम्म गणित विषयको अध्यापन गर्नुभएको छ। करिब २१ वर्षको शिक्षण अनुभवका क्रममा विद्यार्थीका फरक–फरक स्वभाव, रुचि र सिकाइ शैलीलाई नजिकबाट बुझ्ने अवसर प्राप्त भएको र त्यही अनुभवलाई पुस्तकमा समेटिएको जनाइएको छ।
गणित विषयलाई विद्यार्थीका लागि कठिन होइन, सहज र व्यवहारिक विषयका रूपमा स्थापित गर्ने उद्देश्यले पुस्तक तयार गरिएको हो। विभिन्न शीर्षक र संवादात्मक शैलीमार्फत गणितीय ज्ञानलाई दैनिक जीवनसँग जोडेर प्रस्तुत गरिएको पुस्तकले विद्यार्थीमा तार्किक सोच, अभ्यास तथा व्यवहारिक ज्ञान विकास गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
पुस्तकको मूल भावनामा ‘दिमागलाई कसरत, जीवनलाई संस्कार’ भन्ने अवधारणा समेटिएको छ। यसले गणितीय अभ्याससँगै विद्यार्थीको व्यवहार, सोच र दैनिक जीवनमा आवश्यक ज्ञान तथा सीप विकासमा समेत जोड दिएको छ।
सर्जक गुरुङ शिक्षण क्षेत्रमा मात्र सीमित नभई साहित्य तथा चलचित्र क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ। उहाँ ‘उज्यालो’ चलचित्रका कथाकार तथा निर्माता र ‘युरी’ चलचित्रका कथाकारसमेत हुनुहुन्छ। शिक्षण अनुभव र सिर्जनात्मक यात्राबाट प्राप्त ज्ञान तथा अनुभूतिलाई पुस्तकका रूपमा प्रस्तुत गर्दै गुरुङले शैक्षिक तथा साहित्यिक क्षेत्रमा आफ्नो सक्रियता विस्तार गर्नुभएको छ।
‘उज्यालोका पाइलाहरु’ पुस्तकको बिक्रीबाट प्राप्त आम्दानीको १० प्रतिशत हिस्सा बौद्धिक अपाङ्गता तथा सुस्तमनस्थिति भएका असहाय व्यक्तिहरूको सहयोगार्थ समर्पण गरिने पुस्तकमा उल्लेख गरिएको छ। यसले पुस्तकलाई शैक्षिक सामग्रीका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वसँग समेत जोडेको छ।
कार्यक्रममा सहभागी अतिथि तथा वक्ताहरूले ‘उज्यालोका पाइलाहरु’ले विद्यार्थी, शिक्षक र अभिभावकका लागि उपयोगी सामग्रीको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै कृतिको सफलताको शुभकामना दिएका छन्।
लामो समयको शिक्षण अनुभव, विद्यार्थीप्रतिको आत्मीयता, गणित विषयलाई सहज बनाउने प्रयास र सिर्जनशील सोचको संयोजनका रूपमा आएको ‘उज्यालोका पाइलाहरु’ले गणित शिक्षणलाई नयाँ ढंगले बुझ्न र सिक्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। पुस्तकले विद्यार्थीमा गणितप्रतिको डर हटाउँदै व्यवहारिक ज्ञान, तार्किक क्षमता र सिकाइप्रतिको रुचि विकास गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।







प्रतिकृया दिनुहोस