शनिबारदेखि हुने 'छैँठौँ हामखोला झरना महोत्सव' को सम्पूर्ण तयारी पुरा
लमजुङ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा न. ८ भुलभुलेस्थित हामखोला झरनामा हुने छैँठौँ हामखोला झरना महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । मर्स्याङ्दी गाउँपालिकाको प्रवर्द्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा भोलीदेखि साउन २४ गतेसम्म हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको हो ।
महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले उद्घाटन गर्नुहुने छ । महोत्सव शनिबार बिहान ११ बजेदेखि सुरु भई साँझ ६ बजे सम्म सचालन हुने जनाईएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने छ । महोत्सवमा श्रावण २४ गते आईतबार लोकप्रिय लोकदोहोरी गायक राजु परियार र शिला आलेको बेजोड साँगितिक प्रस्तुती रहने । परियार र आलेसँगै महोत्सवमा लमजुङ लोकतारा २०८२ रन्जित गुरुङ, प्रितम गुरुङको प्रस्तुती रहने छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको पर्यटन प्रवद्र्धनसँगै झरनाको मनमोहक दृश्यको आनन्द लिन महोत्सव उपयोगी हुने मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अपेक्षा छ । महोत्सवले हामखोला झरनासँगै मर्स्याङ्दी गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उहाँको दावी छ ।
महोत्सवमा सहभागी भइ स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा साथ दिन आयोजकले आग्रह गरेको छ । यसअघि पनि साउन महिनामा यो महोत्सव हुँदै आएको थियो । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने हामखोला झरनामा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ । अघिपछिभन्दा शनिबार र आईतबार बिदाको दिन झरनामा आन्तरिक पर्यटक बढी पुग्ने गरेका छन् । छैठौँ हामखोला झरना महोत्सव हुन लाग्दा यस झरनाको थप पर्यटन प्रवद्र्धन हुने आयोजकको अपेक्षा छ । लमजुङको सदरमुकाम बेंसीसहरबाट ८ किलोमिटरको दुरीमा रहेको उक्त झरनामा बढी पर्यटक बेंसीसहरबाटै पुग्ने गरेका छन् ।








प्रतिकृया दिनुहोस