बेँसीसहर–३ दनाई गाउँमा बोलेरो दुर्घटना, सात जना घाइते
लमजुङ ।
लमजुङको बेँसीसहर नगरपालिका–३ दनाई गाउँस्थित रानिकुवा–गाउँशहर भित्री पक्की सडक खण्डमा शनिबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार शनिबार दिउँसो करिब २ बजेर ५० मिनेटमा रानिकुवाबाट गाउँशहरतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ ज ००५१ नम्बरको बलेरो अनियन्त्रित भई सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक भरत थापाको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा बेँसीसहर नगरपालिका–३ गाउँशहर निवासी ४० वर्षीया मैया दुलाल, ६१ वर्षीया राधिका घर्ती, ५० वर्षीया मैया मालुवा, ४० वर्षीय काजीराम हिमाली, ५७ वर्षीय सन्तबहादुर सार्की, ७० वर्षीया सन्तमाया नेपाली र ४५ वर्षीया रिता मगर रहेका छन्।
अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने काजीराम हिमालीको अवस्था मध्यम रहेको बताइएको छ। दुर्घटनामा संलग्न चालक बेँसीसहर नगरपालिका–३ निवासी ४० वर्षीय निर्मल देउजा सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उक्त बलेरोमा चालकसहित आठ जना सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालय लमजुङबाट करिब तीन किलोमिटर पश्चिममा पर्दछ।






प्रतिकृया दिनुहोस