लमजुङमा शुभकामना आदान प्रदानसहित ३२ औँ विश्व आदिबासी दिवस मनाईयो
लमजुङ ।
आज अगस्ट ९ तारिख, अर्थात ३२ औँ विश्व आदिबासी दिवस, नेपालसहित बिश्वभर मनाइएको छ । लमजुङमा पनि शुभकामना आदान प्रदान कार्यक्रम सहित यो दिवस मनाइएको छ । प्राप्त अधिकारको रक्षा, आजको आवश्यकता, पहिचानसहितको समाबेशी र न्यायपुर्ण नेपाल निर्माण हाम्रो साझा प्रतिबद्धता भन्ने मूल नारासहित लमजुङमा पनि यो दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बेँशीसहर नगरपालिकाका उपप्रमुख पदमा गुरुङले जातिय बिबिधता नेपालको सुन्दर पक्ष भएको बताउदै भाषा,कला, संस्कार, संस्कृति संरक्षण गर्नुपर्ने बताउनुभयो। उहाँले भाषण गर्दैमा अधिकार प्राप्त नहुने बताउदै त्यसका लागि सबै आदिवासीहरु एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । जबसम्म आदिवासीहरु शिक्षामा अघि बढ्दैनन् तबसम्म आदिवासी समुदाय प्रतिस्पर्धामा जान नसकिने बताउदै शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
बेँशीसहर नगरपालिका वडा नं २ का वडाअध्यक्ष मदन रानाले नेपालको संबिधानले सुनिश्चित गरेको हक अधिकार संरक्षण र कार्यन्वयनमा आदिवासी जनजाति महासंघले काम गरिरहेको बताउनुभयो । हाल नेपालको संबिधान संशोधन र राज्यको पुनर्संरचना गर्ने कुरा चलिरहेको बताउदै यसका बिषयमा पनि महासंघले बहस र छलफल गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद लमजुङका पुर्व अध्यक्ष सुबेदार खेमजङ्ग गुरुङले महासंघको इतिहास र यसको आवश्यकता बारे प्रष्ट पार्नुभएको थियो । तमु ह्युल छोज धिं परिषद लमजुङका अध्यक्ष जिवराज घलेले आफ्नो मातृभाषा, संस्कार संस्कृति संरक्षण गर्नुपर्ने र त्यसमा सरकारले पनि साथ दिनुपर्ने बताउनुभयो । आदिवासी जनजातिलाई कसरी सक्षम, सशक्त र क्षमतावान बनाउने भन्नेबारे सोच्नुपर्ने बताउनुभयो ।
नेपाल मगर संघ लमजुङ अध्यक्ष होम बहादुर रानाले आदिवासी जनजातिले आफ्नो भाषा,संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो । भुजेल सेवा समाजका महेश भुजेलले आदिवासीहरुले आफ्नो भाषालाई लिपिबद्ध गर्दै लैजानुपर्ने आवश्यकता औल्याउँनुभयो ।
कुमाल समुदायको प्रतिनिधित्व गर्दै नेपाल आदिबासी जनजाति महासंघ जिला समन्वय परिषद लमजुङका सहसचिव कमल बिक्रम कुमालले आदिवासी जनजातिहरुको कला,संस्कृति, भाषा भेषभुषा संगठित भएर नै नेपाललाई कला संस्कृतिमा बिबिधता भएको देशका रुपमा चिनाउन सकिएको बताउनुभयो ।
नेपाल ह्योल्मो सेवा समाजका अध्यक्ष जिवी लामाले जिल्लाभित्र १० समुदायका आदिवासी जनजातीहरुको बसोबास रहेको भएपनी सबैको प्रतिनिधित्व हुनेगरी सहभागीता नभएको प्रती दुख व्यक्त गर्दै एकता नै प्रमुख आवश्यकता रहेको बताउनुभयो ।
तामाङ घेदुङ जिल्ला समन्वय समिती लमजुङका अध्यक्ष होमराज तामाङले नेपालको इतिहास र सभ्यता निर्माणमा आदिवासी समुदायको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । नयाँ पुस्तामा संस्कृति हस्तान्तरणमा जोड दिनुपर्ने बताउनुभयो । आदिवासीले प्राप्त गरेको अधिकारको प्रभाबकारी कार्यन्वयन र त्यसको संरक्षणमा अब ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । सबै आदिवासी जनजातिहरुले एकतामा ध्यान दिनुपर्ने बताउनुभयो । राजनिती र नीति निर्माण तहमा जनजातिहरु नपुग्दा पछि पर्नुपर्ने अवस्था आएको दावी गर्नुभयो ।
कार्यक्रममा संघसंस्थाहरुको तर्फबाट लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, नेवा खलः वेशीसहरका उपाध्यक्ष नन्दलाल श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै महासंघ जिल्ला समन्वय परिषद लमजुङका अध्यक्ष राम कुमार श्रेष्ठले संबिधानमा उल्लेखित अधिकारहरुलाइ कार्यन्वयनमा लैजान र आदिवासीको पक्षमा केही व्यवस्थाहरु थपघट गर्नुपर्ने रहेकाले त्यसका लागी महासंघले निरन्तर पहल गरिरहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा स्वागत उपाध्यक्ष बल बहादुर राना र सन्चालन सचिव खेम गुरुङले गर्नुभएको थियो । शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल तामाङ घेदुङका कोषाध्यक्ष सावित्री तामाङ, केन्द्रिय सदस्य आशा तामाङ, नेपाल पत्रकार महासंघ लमजुङका पुर्व अध्यक्ष एवं उपभोक्ता मन्च लमजुङका अध्यक्ष किसान सँगीत, पत्रकार महासंघ लमजुङका पुर्व अध्यक्ष आस गुरुङ, क्याप्टेन मीन बहादुर गुरुङसहित विभिन्न जातीय घटकका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।






प्रतिकृया दिनुहोस