आज : Sunday, August 09, 2026 | २०८३ श्रावण २४ आइतबार

पुमा एग्रो प्रालिको प्रथम भेला सम्पन्न, बाझो खेतको सदुपयोग गर्दै यूवाहरुलाइ गाउँमै फर्काउने लक्ष्य

लमजुङ ।
जीवन निर्वाह कृषिबाट आधुनिक कृषिमा फड्को मार्ने र विभिन्न कारणले गाउँ छाडेर गएकाहरुलाई गाउँमै फर्काउने उद्देश्यले लमजुङको पूमा गाउँमा पुमा एग्रो प्रा.लि. संचालनमा आउने भएको छ । जिल्लाको बेँशीसहर नगरपालिका वडा नं. ६ पुमा गाउँको पर्यटन प्रवद्र्धनसँगै कृषिको माध्ययमबाटट आर्थिक उन्नति गर्ने उद्देश्यसहित पुमाका स्थानीयले पूमा एग्रो प्रालि संचालनमा ल्याउने महत्वाकांक्षी योजना अघि सारेको हो । यसको मुख्य परिकल्पनाकार पर्यटन बिज्ञ बबरजंग गुरुङ हुनुहुन्छ । बेँशीसहर नगरपालिकाका एघारवटा वडामध्य नमुना कृषि योजना  भएको वडाका रुपमा चिनाउने पूमा एग्रोको लक्ष्य छ ।

यसैबीच शनिबार पुमा एग्रो प्रा.लि.को प्रथम भेला सम्पन्न भएको छ । बेँशीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै नगरप्रमुख अर्यालले निर्वाहमुखी खेतीले आर्थिक प्रगती सम्भव नहुने बताउनुभयो । सामाजिक न्यायमा पर्ने गरेर सबैलाइ सङ्गै लिएर अगाडि बढ्न सुझाव दिदै पूमा एग्रोलाइ नगरपालिकाबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । साथै रोजगारी, शिक्षा स्वास्थ्य वा अन्य सुविधाका लागि पलायन भएकाहरुले आफ्नो जन्मथलोप्रति माया देखाउनुपर्ने बताउनुभयो । पुमा एग्रो प्रा.लि.लाई सफल बनाउनका लागि लाग्ने खर्च व्यवस्थापनका लागि प्रस्तावना बनाएर संघ, प्रदेश  र स्थानीय तहमा पेश गर्न समेत उहाँको आग्रह छ । 

पुमा एग्रोका परिकल्पनाकार तथा पर्यटन बिज्ञ बबरजंग गुरुङका अनुसार गाउँको बाझो खेतको सदुपयोग गर्दै यूवाहरुलाइ गाउँमै फर्काएर उद्यमी बनाउनका लागि पुमा एग्रो प्रा.लि. संचालन गर्न लागिएको हो । पुमा सामुदायिक होमस्टे ब्युँताउनका लागि पनि गाउँमै कृषि उत्पादन गरेर सामुहिक भान्साघर सन्चालन गर्ने प्रालिको योजना छ । जसका लागि आगामी ल्होछार पर्व लगत्तै सामुहिक भान्साघर सन्चालन गर्ने, ५० घारबाट मौरी पालन व्यवसाय सुरु गरेर ५ वर्षमा ५०० घार मौरी  पालन गर्ने प्रालिका योजना छ । 

परिकल्पनाकार गुरुङका अनुसार पूमा गाउँ आरुबखडाको हब पनि हो । त्यसैले प्रालिले आरुबखडा खेतीलाइ व्यवसायिक बनाउने त्यसका लागि आउदो बर्ष दुई हजार बिरुवा लगाउने जनाईएको छ । आगामी पाँच वर्षमा आरुबखडा उत्पादन सुरु गरेर त्यसबाट वाइन,जुस लगायत पेय पदार्थ उत्पादन गर्ने योजना छ । यस्तै पुमा गाउँमा कफी खेती अध्ययनको सिलसिलामा रहेको र बिज्ञहरुले कफी खेती सफल हुने बताइसकेको बताउनु हुदै उहाँले पाँच बर्षमा पाँच लाख कफीको बोटबाट उत्पादन सुरु गर्ने बताउनुभयो ।  

पुमा वासीले लामो समयदेखि देखेको साझा सपनाले मुर्त रुप पाउने आधारका रुपमा पूमा एग्रो रहेको बताउनुहुँदै उहाँले एकजनाको प्रयासले मात्र पूमा एग्रोले सफलता नपाउने बताउदै पूमाबासीहरु भौतिक र भावनात्मक रुपमा पनि एकजुट हुनुपर्ने बताउनुभयो । 

प्रालिमार्फत कृषिमा पाँच बर्षमा चार करोडको अनुमानित खर्च गर्ने महत्वाकांक्षी योजना छ । जसबाट हुने मुनाफाको २० प्रतिशत भलाइको कोषमा, २० प्रतिशत जगेडा कोषमा र ६० प्रतिशत मुनाफा सबै गाउँलेहरुमा बराबर बाँडफाँड गर्ने परिकल्पनाकार गुरुङले बताउनुभयो । यसका लागि स्थानीयले स्थानिय, संघ र प्रदेश सरकारको अनुदानको अपेक्षा समेत गरेका छन् ।  पूमा एग्रो प्रालि गाउँको आर्थिक अवस्थालाइ परिवर्तन गर्ने टर्निङ पोइन्टका रुपमा रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा बेँशीसहर नगरपालिकाका उपप्रमुख पदमा गुरुङले बिदेश पलायन हुने र सहरतर्फ बसाइ सरेर जाने अवस्था बढ्दै गएको बताउँदै त्यसलाई रोक्न यो योजनाले सघाउने बताउनुभयो । गाउँमा महिला र बृद्धवृद्धाहरु मात्र हुदा होमस्टेमा आएका पाहुना राख्न नसक्ने अवस्था रहेको बताउनुहुँदै पूमा एग्रोको सफलता पछि यूवाहरु गाउँमै फर्किए होमस्टे ब्युताउन सकिनेमा विश्वस्त रहेको बताउनुभयो । पूमा गाउँ अरु वडाका लागि पनि प्रेरणाको श्रोत बन्न सक्ने उहाँको भनाई छ ।   

बेँशीसहर नगरपालिका वडा नं ६ का वडाअध्यक्ष प्रकाश थापाले मौरी पालनको पकेट क्षेत्र बनाउने अभियान सुरु भैसकेको बताउनुभयो । पुमा एग्रो प्रा.लि.को सफलताले पुमा गाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुहुँदै उहाँले वडाको साथ र सहयोग रहने बताउनुभयो। 

पुमा गाउँ टोल सुधार समितिका अध्यक्ष गणेश कुमार गुरुङले गाउँमै रहेका र देशविदेशमा रहेका पुमावासीहरुसँगको पटकपटकको छलफलबाट पूमा एग्रो संचालन गर्न लागिएको बताउनुहुँदै उहाँले पुमा एग्रो प्रालिलाई सफल बनाउन सबै गाउँलेहरुले मन, वचन र कर्मले साथ दिने बताउनुभयो । साथै सामुहिक भान्साघर संचालनमा आएपछि घलेगाउँ जाने पर्यटकलाइ रोक्न सकिने बताउनुभयो । 

पुमा गाउँ सामुदायिक होमस्टेका अध्यक्ष दुर्ग बहादुर गुरुङले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत कार्यपालिका सदस्य सुकमाया गुरुङले गर्नुभएको थियो ।  

होमस्टेका अध्यक्ष दुर्ग बहादुर गुरुङका अनुसार कुल ५४ घरधुरी रहेको पुमा गाउँमा हाल करिब १५० जना मात्र मानिसहरु बसोबास गर्छन् । अन्य मानिसहरु शिक्षा, स्वास्थ्य तथा रोजगारीका लागि विदेशसँगै बेशीसहर बजार, पोखरा काठमांडौ लगायत ठाउँमा बसोबास गर्दै आएका छन् । हाल पुमाका १० वटा घरमा होमस्टे संचालनमा रहेको छ । यहाँ वि.सं. २०७५ साल पौष २९ गतेदेखि होमस्टे संचालनमा आएको हो । 

प्रतिकृया दिनुहोस