आज : Saturday, October 10, 2026 | २०८३ असोज २४ शनिबार

गण्डकी प्रदेश सभामा मेरो एक वर्षे अनुभवः यशोदा रिमाल

सुन्दर हिमाल, कलकल बग्ने झरना, अनि हरियाली मनोरम दृश्य । लमजुड सदरमुकाम बेंसीशहरदेखि उत्तरी भेग, त्यही एउटा गाउँमा जन्मिएकी छोरी म ।
माध्यमिक शिक्षा गाउँनजिकैको विद्यालयबाट प्राप्त गरेँ । विद्यालयदेखि नै सामाजिक न्याय, समानता र प्रजातन्त्रप्रति तीब्र आकर्षण थियो । भर्खरै बहुदलीय व्यवस्था घोषणा भएको थियो । केही सहज परिस्थिति महशुस गरी विद्यालयबाटै अनेरास्ववियुमा लागेँ । अध्ययन साथसाथै सामाजिक कार्य रुचि थियो, निरन्तरता दिएँ ।
वैवाहिक जीवन सुरु भयो । परिवारिक जीवन, विभिन्न आयामहरु सम्हाल्दै प्यारो पार्टी नेकपा (एमाले) को विभिन्न कमिटी हुँदै जिल्ला कमिटीमा रहेर कार्यसम्पादन गर्दै अघि बढेको छु । राजाको निरंकुश शासन होस् या लोकतान्त्रिक गणतान्त्रिक आन्दोलन, महिला आन्दोलन, आवधिक निर्वाचन होस् या कुनै अभियान होस्, सधैँ पार्टीको निर्देशन अवलम्बन गर्दै आएकी छु । सामाजिक काम र अध्ययनलाई पहिलो प्रथामिकता राखेर अघि बढेको छु । परिवार र पार्टीका अग्रज नेताप्रति आभारी छु ।
सकारात्मक परिवर्तन, महिलाका विषय, शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील विषयलाई सम्बोधन गर्नुपर्छ भन्ने मेरो जोड रहेको छ । महिलालाई सशक्त बनाउने प्रयास गरेको छु । मेरो प्रतिबद्धता, मेरो चाहना, सबैका लागि बलियो, समानतामूलक समाज निर्माण, मेरो गाउँ, मेरो जिल्ला र सिंगो मुलुकको सुन्दर भविष्य निर्माण होस्, कुनै युवा पलायन हुन नपरोस्, सामाजिक सौहार्दता कायम होस् र महिलालाई हरक्षेत्रमा सफल बनाउन सकियोस्, सुशासन कायम होस्, विकासले तीब्र गति लिन सकोस्, लोकतन्त्र थप गतिशील र सुदृढ बनोस् । नेपाली किसान र जिउँदो इतिहास बोकेका जेष्ठ नागरिकको जीवन सुखमय होस्, मेरो चाहना र कामना छ ।
२०८० पौष १४ गते एक वर्ष भयो मैले प्रदेश सभा सदस्यको रुपमा जिम्मेवारी प्राप्त गरेको । एक वर्षको अवधिमा धेरै कुरा सिक्न, बुझ्न र अनुभव गर्न पाइयो । 
गण्डकी प्रदेश हिमाल, पहाड र तराईले बनेको एक सुन्दर प्रदेश हो । पर्यटकीय दृष्टिकोणले नेपालकै अब्बलमध्येको प्रदेश हो गण्डकी प्रदेश । विविध कला र संस्कृतिले यहाँको पहिचान दिन्छ । कला र संस्कृति यहाँको सौन्दर्यता हो ।
गण्डकी प्रदेशलाई थप सुन्दर बनाउन तीब्र परिवर्तन र जनताको चाहनाअनुरूप विकासको हुटहुटी पूरा गर्ने सपना र योजना छन् । सबै कुरा सोँचेजस्तो, सम्झेजस्तो सहज भएन, वातावरण बनेन । मेरो जिम्मेवारी वा भूमिका प्रदेशको कानून निर्माण गर्ने, सरकार निर्माणमा सहभागी हुने, वजेट पारित गर्ने र सरकारको काममा निगरानी गर्ने हो । गण्डकी प्रदेशमा हाम्रो पार्टी सरकारमा छैन । तैपनि जनताका कुरा सुन्ने, पीरमर्का बुझ्ने, जनताको घरदैलो पुग्ने, सुखदुःखका कुरा गर्ने कार्यमा जनतासँगै छु । विकास निर्माणका योजना लिएर मन्त्रालय धाउने, जनताको कुरा राख्ने, जनताका आवाजलाई संसद र सरकारसमक्ष पु¥याउने कार्यहरु महत्वपूर्ण बन्यो । 
जनताको माग, गुनासा लिएर र लेटरप्याडमा योजनाको माग लिएर मन्त्रालयमा मन्त्रीलाई बुझाउँदैमा योजना नपर्दो रहेछ भन्ने यथार्थ मैले यो एक वर्षमा भोगेको छु । कर्मचारीतन्त्रदेखि हरेक नेटवर्कको अध्ययन र परिचित नभएसम्म जनताको काम नबन्ने वा विकासे योजना नपर्ने रहेछ भन्ने कुरा पनि अनुभव गर्न पाइयो । यसकारण पनि मेरो एक वर्ष चुनौतिपूर्ण रह्यो । 
म महिला । त्यसमाथि पनि समानुपातिक सांसद । केही फरक अनुभव गर्नु स्वभाविक हो । सांसदहरुले मुख्य लक्ष्यमा केन्द्रित भएर काम गर्नुपर्नेमा परिणाम त्यति राम्रो आउन नस्क्नुले सांसद र सरकारमाथि प्रश्नहरु उठिरहेका छन् । जुन कुरामा सांसदहरुको ध्यान केन्द्रित हुनुपर्ने हो, ठीक विपरित भइरहेको छ । यसो भनिरहँदा जनता र विकासप्रति सांसद जिम्मेवार नभएको भन्ने होइन । आफ्नो क्षेत्रका जनताको आवश्यकता अनुरुप विकास निर्माणको काममा सहभागी र अग्रसर हुँदै जनता र सरकारबीचको पुलको रुपमा सांसदको भूमिकामा छु ।
पहाडी जिल्ला लमजुङ विकासका दृष्टिले अझै पछाडि छ । तर, यहाँ हरेक खालका सम्भावना छन् । गाउँ नै गाउँले भरिएको लमजुङ पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएको ठाउँ हो । गाउँगाउँमा सञ्चालित होमस्टेले ग्रामीण अर्थतन्त्र धान्ने प्रयास गरिरहेको छ । अझै पनि सोचेअनुरुप पर्यटन प्रवद्र्धन हुन सकेको छैन । नेकपा एमाले नेतृत्वमा सरकार रहँदा विकासको सुरुवातसँगै गति लिएकोमा अहिले विकास ठप्प प्रायः छ । तर पनि जनताको अथक प्रयासले गाउँमा विकास निर्माण र सचेतनाका गतिविधिहरु भइरहेका छन् । 
जलस्रोतले धनी जिल्लामा २ सय मेगावाट हाराहारीमा बिजुली उत्पादन भइरहँदा पनि यसको दीर्घकालीन व्यवस्थापनबारे सरकारले अझै सोचेको छैन । जडिबुटीसम्बन्धी ठोस नीति तथा कानुन नहुँदा यहाँका बहुमूल्य सम्पत्ति खेर गइरहेको छ । प्राकृतिक स्रोत र सम्पदाको यथोचित सदुपयोग गर्न सकेमा लमजुङको समृद्धिमा यसले जोडबल दिने विषयमा दुई मत छैन ।
गण्डकी प्रदेशमा एक वर्षको अवधिमा ४१ वटा प्रदेश सभा बैठक बस्यो । म ३९ वटा बैठकमा उपस्थित भएको छु । विशेष कारणले २ वटा बैठकमा सहभागी हुन सकिन । प्रदेश सभामा लमजुङको समस्याबारे सभामुखमार्फत सरकारलाई झकझक्याएको छु । नागरिकको समस्या सरकारलाई सुनाएको छु । नागरिकको पीडा सरकारलाई बुझाएको छु । 
उदाहरणको लागि शून्य समयमा उठाइएका विषयवस्तुहरु लमजुङको उदिपुर पहिरोको अवस्था र समस्या समाधानबारे, जिल्ला अस्पतालको स्वास्थ्य सेवाबारे, लमजुङ विद्युत्को समस्या र समाधानबारे, मस्र्याङ्दी र दोर्दीको बाढीपहिरोलगायतको समस्याबारे प्रदेश सभामा उठाएको छु । हाम्रो काम भनेको जनताको पीरमर्कालाई बुझेर सरकारलाई भन्ने हो । सरकारले जनताको पीडामा खासै चासो दिएको पाइँदैन । प्रदेश सभामा बजेट, नीति तथा कार्यक्रममा सैद्धान्तिक र दफावार छलफलमा निरन्तर भाग लिएकी छु, बोलेकी छु । विषय वस्तुतः उठान गरेकी छु ।
सुन्दर र विकसित देश निर्माण गर्न धेरै कार्य गर्न बाँकी छ । असल शासनमार्फत सेवा प्रवाह गर्न धेरै मेहनत गर्न बाँकी छ । महिला, दलित र उत्पीडीतका समस्या अझै उस्तै छन् । गाउँलाई पुनः हराभरा बनाउन बाँकी छ । एक स्वाधीन राष्ट्रको नागरिकको रूपमा आत्मसम्मानपूर्ण जीवन यापन गर्नसक्ने नागरिक समाज निर्माण गर्न म जीवनपर्यन्त लागि रहने प्रतिवध्दता जाहेर गर्न चाहन्छु ।
धन्यवाद ।
तमू ल्होसारको आशिमलाँ ।
अंग्रेजी नयॉ वर्षको हार्दिक मंगलमय शुभकामना !

यशोदा रिमाल
प्रदेश सभा सदस्य, गण्डकी प्रदेश

प्रतिकृया दिनुहोस